वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले काठमाडौंको पेप्सीकोलास्थित मनोहरा खोला किनारमा बुधबार वृक्षारोपणको शुभारम्भ गरेका छन्। बस्नेतले चाँपको बिरुवा रोपेका हुन्।
अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा बस्नेतले जैविक विविधता जोगाउन समेत अपिल गरे।
'सरकार एक्लैले जैविक विविधता संरक्षण गर्न सक्दैन', बस्नेतले भने, 'आमनागरिकको सहभागिता विना जैविक विविधताको संरक्षण सम्भव छैन।' उनले जैविक विविधता जोगाउन ‘सरकारले नेतृत्व' लिने दावी गरे। 'स्थानीय समुदाय र निजी क्षेत्रले सरकारलाई सघाउनुपर्छ', उनको अपिल थियो।
मन्त्री बस्नेतले आगामी वर्षको बजेट निर्माण गर्दा जैविक विविधता र वृक्षारोपणलाई पर्याप्त ध्यान दिइने बताए।
सन् १९९२ मे २२ का दिन ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धि अगाडि बढाउने प्रस्ताव गरेको दिनको सम्झनामा सन् १९९४ देखि मे २२ लाई जैविक विविधता दिवसका रुपमा संसारभर मनाइँदै आइएको छ।