काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले समस्याका चाङ देखाउनेभन्दा विकल्प देखाउने प्रवृति आवश्यक रहेको बताएका छन्।
सहरमा उत्पादन भएको घरेलु फोहोरलाई दीगो रूपमा व्यवस्थापन गरेर जलवायु परिवर्तनमा पुग्ने असर रोक्ने प्रतिवद्धतासहित काठमाडौंमा ‘जलवायु परिवर्तनमा फोहोरमैलाले पारेको प्रभाव’ विषयक कार्यक्रममा बोल्दै उनले समस्या देखाउने होइन, समाधान दिने विज्ञ चाहेको बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाक्यले भने,‘सहरमा यस्ता समस्या छन् भनेर देखाउनेभन्दा यो समस्याको समाधान यो हो भनेर देखाउने विज्ञको खाँचो छ। कुनै एउटा विषय दियो भने घण्टौंसम्म बोल्न सक्ने क्षमता हुन सक्छ। समस्याका चाङ लगाइदिन सक्ने प्रवृत्ति हुन सक्छ। धेरै विकल्प देखाउने पनि गर्न सकिन्छ। तर, यो समस्याको समाधान गर्न सक्ने यो नै उपयुक्त विकल्प हो भनेर देखाउन सक्ने विज्ञ पाउन सकिएन।’
आम नागरिकसँग जोडिएका समस्या समाधानमा विकल्प दिने जोकोहीलाई पनि स्वागत गरिने उनले बताए।
‘तपाईंको सुझावलाई हामी नीतिमा उल्लेख गर्छौं, बजेट व्यवस्था गरेर कार्यान्वयन गर्छौं, आउनुहोस् सुझाव दिनोस्,’ उनले भने।
केही वातावरणविदको धारणाले आफूहरूलाई अल्मल्याउने बताउँदै उनले भने,‘वातावरणीय सुधारका लागि हामी विद्युतीय सवारी साधन सञ्चालन गर्ने तयारीमा छौं। केही विज्ञले काठमाडौंमा विद्युतीय सवारी चलाउन हुँदैन भन्छन्। विज्ञबाट आएका यस्ता धारणाले काममा अलमल गराइदिन्छ।’
उपप्रमुख हरिप्रभा खड्गीले समस्या पर्यो भने अरुलाई देखाउने र राम्रो भयो भने आफूले जस लिन प्रवृतिले सहरी समस्या गोलमटोल रहेको बताइन्।
‘प्लाष्टिकजन्य वस्तु मानिसको अभिन्न अंग भइसक्यो। फोहोर मैला व्यवस्थापन भनेको एक पक्षले मात्र काम गरेर व्यवस्थापन हुने होइन। यसको सुधारका लागि व्यक्तिगत आचरण सुधारबाट अघि बढ्नुपर्छ। सहरी समस्या गोलमटोल छन्,’ उनले भनिन्, ‘समस्या पर्यो भने अरुलाई देखाउन मिल्ने र राम्रो भयो भने आफूले जस लिन सजिलो अवस्था छ।’
गोष्ठीमा वातावरणविद् भुषण तुलाधरले जैविक फोहोरबाट ३.६ प्रतिशतले हरित गृह ग्याँस उत्सर्जन हुने बताउँदै यसबाट हुने असर कम गराउन व्यक्तिगत तहबाट काम थालनी गर्नुपर्ने धारणा राखे।