गएको फागुन १८ गते राति मृत फेला परेका चन्द्रप्रसाद आचार्यको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतले मंगलबार उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा वीरेन्द्रनगर–६ बुद्धपथमा होटल सञ्चालन गर्दै आएका नन्दकला विष्ट, उनका श्रीमान् कृष्ण विष्ट र छोरी बिन्दु विष्टलाई प्रहरीले पक्राउ गरेको हो।
वीरेन्द्रनगर–६ मा पसल गर्दै आएका आचार्यको शव फागुन १८ गते राति १० बजे वीरेन्द्रनगर ६ बुद्धपथमा भेटिएको थियो।
प्रारम्भिक अनुसन्धानका क्रममा विष्ट परिवारले हत्या गरेको आंशकामा पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय कर्णालीका प्रमुख प्रहरी नायव महानिरीक्षक महेशविक्रम शाहले जानकारी दिए।
बुद्धपथस्थित अतिथि होटलको भुइँतलामा जोडिएको सिसिटिभी फुटेजको आधारमा प्रहरीले अनुसन्धान सुरू गरेको उनले बताए।
‘आचार्य सोही दिन नन्दकला विष्टले सञ्चालन गरेको पसल वरपर धेरै पटक आवातजावत गरेको, टहरोको आँखी झ्याल जस्तो भागबाट पटक–पटक चियाएर भित्रबाहिर गरेको देखिएको छ। ९ बजेर ३७ मिनेटमा अन्तिम पटक पसलमा प्रवेश गरेको सिसिटिभिमा स्पष्ट देखिन्छ’, प्रहरी प्रमुख डिआइजी शाहले भने, ‘पसलभित्र गएको ९ मिनेटपछि पसलको पश्चिमतर्फ करिब १२ मिटरको दूरीमा आचार्य पल्टिएको अवस्थामा देखिएका छन्।’