दाङका एक मेडिकल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।
मेडिकलको उपचारपछि १८ महिने सुशान्त कुमालको मृत्यु भएपछि जिल्लाको राप्ती गाउँपालिका वडा नं. ५ सिसहनियाँमा मेडिकल सञ्चालन गर्दै आएका चेतराम चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।
अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वडा नं.८ सातमारा निवासी हरिबहादुर कुमालको १८ महिनाका छोरा सुशान्त दाङको गढवा गाउँपालिका वडा नं. १ जेठानगाँउस्थित मामाको घरमा आएको समयमा बिरामी परेपछि चौधरीको जेठानगाँउस्थित मेडिकलमा उपचारका लागि लगेका थिए।
चौधरीले सुशान्तलाई सोमबार बिहान साढे ७ बजे सुई लगाइ दिए लगत्तै बालक बेहोस भएका थिए।
त्यसपछि बालकलाई थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्याइएको थियो ।
उक्त अस्पतालका चिकित्सकले बालकलाई त्यहाँ पुर्याए लगत्तै सवा १२ बजेतिर मृत घोषणा गरिदिएका थिए।
त्यसपछि सम्भावित घटना हुन नपाओस् भनेर शान्ति सुरक्षाको लागि मेडिकल सञ्चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिए।
शिशुको शव भने पोष्टमार्टमका लागि लमहीस्थित अस्पतालमा राखिएको छ।