गृहमन्त्री रामबहादुर थापाले अपराधीहरूलाई नियन्त्रण गर्न ठोस सूचना आवश्यक रहेको भन्दै सही सूचना, यथार्थ, प्रमाणको आधारमा सुरक्षा योजना र नीति निर्माण गर्नुपर्ने बताएका छन्। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित ‘प्रथम चरणको रणनीतिक तथा नेतृत्व विकास तालिम’को सोमबार समापन गर्दै गृहमन्त्री थापाले यस्तो बताएका हुन्।
गृहमन्त्री थापाले प्रहरीको लक्ष्य व्यावसायिक सुरक्षा अधिकृत निर्माण गर्नु रहेको बताए। उनले नेतृत्व विकासको सिद्धान्त तथा विविध ज्ञानले देश र जनताको सुरक्षामा महत्वपूर्ण योगदान मिल्ने पनि बताए।
‘राष्ट्र र नागरिकको सफलतापूर्वक सुरक्षा गर्ने नेपाल सरकारको मुख्य जिम्मेवारी हो,’ थापाले भने, ‘यस्तो जिम्मेवारीका लागि सही सूचना संकलन गर्नुपर्छ।’
गृहमन्त्री थापाले कुनै पनि अपराधीहरुलाई नियन्त्रण गर्नका लागि ठोस सूचना आवश्यक रहेको बताउँदै यसमा सही सूचना, यथार्थ एवम् ठोस प्रमाणको आधारमा सुरक्षा योजना तथा नीति निर्माण गर्न सकिने बताए। उनले राष्ट्रिय अनुसन्धान विभागको मुख्य जिम्मेवारी ठोस सूचना संकलन गर्नु रहेको बताउँदै आगामी दिनमा सूचना संकलनको लागि अनुसन्धान विभागलाई प्रभावकारी रुपमा प्रस्तुत हुन निर्देशन समेत दिए।
राज्य व्यवस्थालाई उल्टाउन सक्रिय रहेका तत्वलाई निस्तेज र नियन्त्रण गर्ने रणनीति सरकारले लिएको भन्दै उनले देशको अर्थतन्त्रको रक्षा र विकास गर्न आर्थिक अपराधमा संलग्न तस्कर, भष्ट्राचारीलाई नियन्त्रण एवम् निस्तेज पार्न सुरक्षा निकायलाई निर्देशन दिए।
वर्तमान अवस्थामा विज्ञान र प्रविधि गुणात्मक रुपमा तीव्र विकास भइरहेको चर्चा गर्दै थापाले अपराधमा संलग्नहरूले प्रविधिको उच्च प्रयोग गर्दै आएको र त्यस्ता गतिविधिलाई निस्तेज गर्न प्रविधिको विकास गर्नुपर्ने बताए।
उनले उच्च प्रविधिको ज्ञान सँगसँगै सुरक्षाका जिम्मेवारीलाई बहन गर्न इमानदारिता र अनुशासन अनिवार्य रहेको समेत बताए। कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरुमा निखार ल्याउनका लागि तालिम सञ्चालन गरिएको बताए। उनले आउँदा दिनमा यस्ता तालिमलाई निरन्तर रुपमा सञ्चालन गरिने बताए।
राईले सूचना संकलनमा गुणस्तरीयता घट्दै गएको बताउँदै आगामी दिनमा खोज एवम् अनुसन्धानमुलक सूचना संकलन गर्नुपर्ने बताए।
कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समसामयिक परिस्थितिसँग जुध्न सबै सुरक्षा निकायले भूमिका निर्वाह गर्नुपर्ने र कर्तव्य पालना गरी कार्यक्षेत्रमा काम गर्न प्रहरी प्रतिबद्ध रहेको बताए।
उनले मुुलुकमा सीमावर्ती अपराध, प्रविधिको दुरुपयोगबाट सिर्जित अपराध तथा राष्ट्रिय सुरक्षाको विषयमा आइपर्ने चुनौतीहरुको सामना गर्न सबै सुरक्षा संयन्त्रले एकीकृत रुपमा समन्वय गर्दै कार्ययोजना निर्माण गर्न आवश्यक रहेको बताए।
कार्यक्रममा तालिम गतिविधि सम्बन्धि श्रव्य–दृश्य सामग्री समेत प्रस्तुत गरिएको थियो। ७० दिनको उक्त तालिममा राष्ट्रिय अनुसन्धान विभागका सात जना सह–अनुसन्धान निर्देशक र १८ जना उप–अनुसन्धान निर्देशकहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्की, प्रहरी नायब महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृत एवम् अन्य प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति थियो।
हालै गृह मन्त्रालयले दुई एआइजीको सरुवा गरेको थियो। यो सरुवामा कार्य तथा अपराध अनुसन्धान विभाग सम्हालिरहेका एआइजी कार्कीको प्रतिष्ठानमा सरुवा भएको छ। एकेडेमीमा कार्यरत एआइजी धीरु बस्न्यातको राष्ट्रिय सुरक्षा परिषदमा सरुवा भएको छ। एआइजीले नेतृत्व गर्दै आएको कार्य र अपराध अनुसन्धान विभाग नेतृत्वविहीन छ।
शान्ति सुरक्षामा ‘अप्रेसन’ चलाइरहेको कार्य र अपराध अनुसन्धान विभाग नेतृत्वविहीन बनेकोमा उच्च अधिकारीहरु रुष्ट छन्। प्रशासन विभागका एआइजी ठूले राईले नै हाल सो विभाग सम्हालिरहेका छन्। कार्यक्रममा एआइजी कार्की र राई उपस्थित भए पनि परिषद सरुवा भएका बस्न्यात भने थिएनन्। उनी सरुवामा सन्तुष्ट छैनन्।