सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-२ का ३३ वर्षीय विष्णु तामाङ सोमबार काठमाडौं टोखा हाइटमा देखिएका थिए। उनको खोजीमा निस्केको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीसँग जम्काभेट भएपछि तामाङले हतियार देखाएका थिए।
महाशाखाका अनुसार तामाङले थ्री नट थ्री राइफलको गोली जाने ‘होम मेड’ पेस्तोल देखाए। त्यसपछि प्रहरीले तामाङमाथि गोली चलाएको थियो। दाहिने घुँडामा गोली हानेर प्रहरीले तामाङलाई समातेको थियो।
अहिले वीरको ट्रमा सेन्टरमा उपचाररत तामाङको साथबाट प्रहरीले थ्री नट थ्री राइफलको पाँच थान गोलीसमेत बरामद गरेको छ।
महाशाखाका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार राजधानीमा हुने लुटपाटका घटनाको लामो फेहरिस्त तामाङसँग जोडिन्छ। उनलाई तीन वर्षदेखि महाशाखाले सर्वाधिक खोजी गरिरहेको थियो।
सोमबार गोली प्रहार गरी नियन्त्रणमा लिएसँगै महाशाखाले तामाङसँग जोडिएका केही ठूला लुटपाटका घटना विवरण सार्वजनिक गरेको छ। ‘अचम्मचाहिँ के छ भने तामाङ एक्लैको संलग्नतामा ठूला–ठूला लुटपाट भएको देखिन्छ,’ प्रहरी उपरीक्षक राठौरले भने।
२०६६ साल माघ २७ गते कपनमा भएको लुटपाट घटनाबाट तामाङको आपराधिक गतिविधिको पोल खुलेको। यही साल तामाङले पूर्वएआइजी जयबहादुर चन्दको चपली भद्रकाली र पूर्वडिआइजी विश्वराजसिंह शाहीको बुढानिलकण्ठस्थित घरमा लुटपाट गरेका थिए।
चन्द र शाहीको घरमा लुटपाट मच्चाउँदा तामाङको नाममा ८ वटा मुद्दा दर्ता भइसकेका थिए। आफ्नै घरमा लुटपाट हुन थालेपछि उच्च अधिकारीले चासोसाथ उनको खोजीमा प्रहरी खटाए। तामाङ २०६६ सालमै पक्राउ परे र ६ वर्ष कैद भुक्तान गरी २०७२ असोज ६ गते रिहा भए।
जेलबाट छुटेपछि पनि तामाङले लुटपाट छोडेनन्। छुटेको एक वर्ष नपुग्दै तामाङले शृंखलाबद्ध रुपमा राजधानीमा लुटपाट मच्चाए। २०७३ जेठ ३१ गते नागार्जुन नगरपालिका १ की राज्यवति त्रिपाठी र राजेन्द्र अधिकारीको कोठाको ढोका फोडेर ४ लाख ५५ हजार बराबरको धनमाल चोरी गरे।
२०७३ असार १ गते नागार्जुन–२ का सुनिल मानन्धरको घरबाट ६ लाख १५ हजार बराबरको धनमाल चोरी भयो। ७ गते स्वयम्भुका हर्कबहादुर कार्कीको घरबाट २० लाख, ९ गते ललितपुर नख्खिपोटकी गीता गुरुङको घरबाट ४४ लाख ५ हजार, १४ गते ललितपुर–५ कैलाशबस्तीस्थित केशवबहादुर विष्टको घरबाट १८ लाख १५ हजार, २८ गते नागार्जुन–१ का भोजराज आचार्यको घरबाट ४ लाख ८४ हजार र चेतकुमारी सापकोटाको घरबाट ५ लाख ६५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको थियो।
यी सबै घटनाको अनुसन्धानमा महाशाखाले तामाङको संलग्नता किटान गरी खोजी थालेको थियो। ‘एकपछि अर्को घटना भइरहने तर उनी फेला नपर्ने भएपछि प्रहरीलाई टाउको दुखाइ भएको थियो,’ प्रहरी उपरीक्षक राठौरले भने।
राठौरका अनुसार यी अनुसन्धानबाट खुलेका तामाङको संलग्नतामा घटेका घटना हुन्। प्रहरीसम्म आइनपुगेका यस्ता थुप्रै घटना रहेको आँकलन गरिएको छ।
तामाङको सम्पर्क सूत्र र धनमाल बेच्ने वा लुकाउने स्थान अहिलेसम्म पत्ता लागेको छैन। काठमाडौं बसेरै लुटपाट मच्चाइरहे पनि उनी बस्ने स्थान प्रहरीले पत्ता लगाउन सकेको छैन। ‘कहिले बौद्ध कहिले रानीबारी कहिले अर्कै ठाउँ बस्छु भनी उनले प्रहरीलाई ढाँटिरहेका छन्,’ राठौरले भने।
प्रहरीको भनाइ अनुसार लुटपाट योजना बनाउँदा तामाङ पैदल हिँड्थे। पैदल यात्राबाट उनी धनाढ्य परिवारका घर पत्ता लगाउँथे र कोही नभएको मौका छोपेर लुटपाट गर्थेर ‘उनले सवारीसाधन लिएर हिँडेको पत्ता लागेको छैन। पैदलयात्रीको भेषमा हिँडेर योजना बनाएको देखिन्छ,’ राठौरले भने, ‘गोली हान्नुअघि सोमबार बिहान पनि उनी पैदल भेटिएका हुन्।’
धनाढ्य परिवारदेखि प्रहरीका उच्च अधिकारीको घरमा लुटपाट मच्चाउने तामाङको पृष्ठभूमि पत्ता लागेको छैन। उनी कसरी राजधानी छिरे र प्रहरीकै घरमा लुट्न सक्षम भए भन्ने रहस्य पनि प्रहरीले पत्ता लगाउन सकेको छैन।