काठमाडौंमा आयोजित एक समारोहका बीच डब्लुडब्लुएफ नेपालले आफ्नो २६औँ वार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न व्यक्ति तथा संस्थाहरुलाई संरक्षणमा उनीहरुको भूमिका तथा योगदानका लागि संरक्षण पुरस्कार तथा स्मारक छात्रवृत्तिबाट सम्मानित गरेको छ ।
सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल, महोत्तरी र रानीबारी सामुदायिक वन उपभोक्ता समिति, काठमाडौं गरी दुईवटा संस्थाहरु तथा पाल्पाका माधव प्रसाद अर्याल, गोरखाका निमा लामा तथा दाङ्का उमा कान्त पन्त गरी तीनजना व्यक्तिहरुलाई जैविक विविधता संरक्षणमा उहाँहरुले पुर्याउनु भएको योगदानका लागि डब्लुडब्लुएफ नेपाल संरक्षण पुरस्कार २०१९ बाट सम्मानित गरिएको थियो ।
एक स्वतन्त्र छनोट समितिबाट छानिनुभएका उहाँहरुलाई व्यक्तिका हकमा जनही रू पचास हजार र संस्थाका हकमा जनही रू एक लाख प्रदान गरिएको थियो ।
सोही कार्यक्रममा प्राकृतिक स्रोत व्यवस्थापन विषयमा उच्च तहमा अध्ययन गर्नका लागि सातजना विद्यार्थीहरुलाई छात्रवृत्ति पनि प्रदान गरिएको थियो । मनोज न्यौपानेलाई चन्द्र गुरुङ् स्मारक छात्रवृत्ति प्रदान गरिएको थियो भने प्रतिभा खत्रीलाई जिलियन बलिङ् स्क्लाइफर स्मारक छात्रवृत्ति, मनिशा कोइराला तथा सानु चौधरीलाई जेनिफर हेड्ली स्मारक छात्रवृत्ति, सञ्जु राउत तथा तेम्बा गुरुङ्लाई मिंग्बा नोर्बु शेर्पा स्मारक छात्रवृत्ति र सेनिवा नेम्बाङ्लाई डब्लुडब्लुएफ नेपाल संरक्षण स्मारक छात्रवृत्ति प्रदान गरिएको थियो ।
२०६३ असोज ७ गते हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाउनुहुने २४ जना व्यक्तित्वहरुको नेपालको प्राकृतिक सम्पदा संरक्षणप्रतिको प्रतिबद्धताको सम्मान स्वरुप सन् २००७ मा स्मारक छात्रवृत्ति स्थापना गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि वन मन्त्री शक्ति बहादुर बस्नेतले भने , “देशको जैविक विविधता संरक्षणमा काम गरिरहनु भएका संस्थाहरुको अथक प्रयासहरुले नेपाललाई विश्व मानचित्रमा चिनाएका छन् । नेपालले निकै सफलता हासिल गरेतापनि भौतिक पूर्वाधार निर्माण, जलवायु परिवर्तन, वन्यजन्तुको अवैध ओसारपसार लगायतका विभिन्न चुनौतिहरु अझै कायम नै छन् जुन संरक्षणका क्षेत्रमा काम गर्नेहरुका लागि मात्रै चासोको विषय भइरहन सक्दैनन् ।”
सोही क्रममा डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङ्ले बदलिँदो राजनीतिक अवस्था तथा नेपाल अति कम विकसित मुलुकको दर्जाबाट माथि उठ्ने क्रममा भौतिक पूर्वाधार निर्माण तीव्र गतिमा भइरहेको परिप्रेक्ष्यमा स्वच्छ तथा हरित अभ्यासहरुको अंगीकरण हुनुपर्नेमा जोड दिए । उनले प्रकृतिमा मानिसहरु रमेर बस्न सक्ने भविष्य निर्माण गर्नका लागि दिगो पूर्वाधारहरु तथा दिगो जीवनशैलीका भूमिकाका बारेमा बताएका थिए ।