बैतडीमा आज जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
देहीमाडौंबाट नागार्जुन जाँदै गरेको ग १ ज ४९२१ नं को जीप आज बिहान ११:३० बजेतिर दशरथ चन्द नगरपालिका–११ नानीगाड भन्ने स्थानमा दुर्घटना हुँदा अन्य तीन जना घाइते भएका छन्।
मृत्यु हुनेमा बैतडीको दशरथचन्द नगरपालिका–१० बाराकोटका अन्दाजी ४५ वर्षका हीराबल्लभ भट्ट, सोही ठाउँका अन्दाजी ६५ वर्षीय नरुली भट्ट रहेका छन्।
मृत्यु हुनेमध्ये एक जनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
दुर्घटनामा परी दशरथचन्द नगरपालिका–१० का अन्दाजी ४० वर्षका प्रकाश भट्ट, कञ्चनपुरको महेन्द्रनगर बस्ने अन्दाजी २६ वर्षीय राहुल भट्ट र जीप चालक दशरथचन्द नगरपालिका–१० का नवीन भट्ट घाइते भएका छन् ।
घटनास्थल अहिले प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरी नेतृत्वको टोली पुगेको छ।
जीप दुर्घटनाको कारण खुलेको छैन। जीप सडकबाट १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।(रासस)