नेपाल प्रहरीको पछिल्लो अध्ययनले हत्या, हिंसा तथा बलात्कारजन्य घटनाको दर उल्लेख्य संख्यामा बढ्दै गएको देखाएको छ।
काठमाडौंमा आइतबार आयोजित समुदाय–प्रहरी साझेदारी विषयक अन्तर्क्रियामा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तम राज सुवेदीले सो कुरा बताएका हुन्।
उनले गाँजा चरेस सेवन लगायत सामाजिक विकृति, समाजिक सञ्जालको बढ्दो दुरुपयोगलगायत कारणले हिंसाजन्य घटनामा वृद्धि गरेको बताए।
उनले हत्या, हिंसा र बलात्कारका घटना गत सालको भन्दा दोब्बर वृद्धि भएको बताए।
उनले निर्मला पन्त प्रकरणपछि नागरिक समाज, अधिकारका क्षेत्रमा काम गर्ने लगायतबाट जनचेतनाका थुप्रै कार्यक्रम भइरहेको भए पनि त्यस्ता घटना बढ्दै जानु सुरक्षाकर्मीका लागि पनि चुनौतीको विषय बनेको बताए।
उनले बलात्कारजन्य घटनाको प्रवृत्तिमा पनि फरक आएको बताए। उनले पछिल्लो समय बलात्कारजन्य घटनामा ६४ प्रतिशत पीडित १८ वर्ष भन्दामुनिका बालिका भएको र उनीहरू घरपरिवार, नातागोता, छिमेकी , सहकर्मी, शिक्षक लगायतबाट नै बलात्कृत हुने गरेको बताए।
उनका अनुसार यसअघि १६ वर्षभन्दा माथिका उमेर समूहका बालिकामाथि बलात्कार दर बढ्दो थियो।
उनले शान्ति सुरक्षा स्थापनाका लागि प्रहरी एक्लैले मात्रै केही गर्न नसक्ने भन्दै अपराधको प्रकृति र प्रवृत्ति हेरेर समुदायमा आधारित कार्यक्रममार्फत् जनचेतना फैलाउने काममा सहयोग गर्न सबै वर्ग र समुदायलाई आह्वान गरे।