नवजात शिशुलाई परित्याग गरेको अभियोगमा प्रहरीले मुद्दा चलाएका पूर्वसांसद गायत्री साह र उनका पति राजेश महतोलाई जिल्ला अदालत ललितपुरले तारेखमा छोडेको छ।
साह साधारण तारेखमा छुटे पनि उनका पति राजेश महतोसँग भने अदालतले २० हजार धरौटी मागेको छ।
अदालतले मागको उक्त रकम बुझाएर बुधबार उनीहरू दुवै थुनामुक्त भएको प्रमुख जिल्ला न्यायाधीवक्ता मोना सिंहले जानकारी दिइन्।
उनका अनुसार मंगलबार उनीहरू दुवैविरूद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो।
'उनीहरूलाई मुलुकी अपराध संहिताको दफा १८४ को १ र दुई अनुसार मुद्दा चलाइएको थियो। मंगलबार र बुधबार थुनछेक बयान र बहसपछि अदालतले साहलाई स्तनपान गराउनुपर्ने कारण देखाएर साधारण तारेखमा छोड्न र महतोसँग २० हजार धरौटी माग्न आदेश दिएको थियो,' उनले सेतोपाटीसँग भनिन्।
दफा १८४ को उपदफा १ मा आफूले हेरचाह वा स्याहार सम्भार गर्ने कर्तव्य भएको व्यक्तिले कुनै नवजात शिशु, बालबालिका, अशक्त रोगी वा वृद्ध व्यक्तिलाई जिउ, ज्यानमा खतरा पुग्न सक्ने गरी फाल्न, परित्याग गर्न वा वेवास्ता गरी छोड्न नहुने भनेको छ। त्यसरी छोडेको पाइएमा उपदफा २ अनुसार तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
उक्त अभियोग अदालतबाट प्रमाणित भए दुवै जना तीन वर्षसम्म कैद र ३० हजारसम्मको जरिवाना हुने व्यवस्था गरेको छ।
आफ्नो बच्चालाई स्वीकार गर्न नमानेको त्यसमाथि अस्पतालमा होहल्ला गरेको भन्दै मेडिसिटी अस्पतालले उजुरी गरेपछि वैशाख २२ गते प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो।
उनीहरूमाथि अनुसन्धान गरी प्रहरीले बुधबार जिल्ला अदालतमा नवजात शिशु वेवारिसे छोडेको अभियोग लगाउँदै मुद्दा दायर गरेको थियो।
दुवैको बयानपछि अदालतले उनीहरूलाई तारेख र धरौटीमा राखेर मुद्दाको पुर्पक्ष गर्ने भनेको हो।
पूर्वसांसद साहले ‘डाउन सिन्ड्रोम’ जन्मिएको थाहा लागेपछि बच्चा अस्पतालको लापरबाही देखाउँदै बच्चाको जिम्मा अस्पतालले लिनुपर्ने भन्दै आएकी छन्।
उनको छोरा अहिले पनि मेडिसिटी अस्पतालको एनआइसियुमै छन्।
साहले फागुन २८ गते मेडिसिटी अस्पतालमा छोरा जन्माएकी थिइन्।
दुवै खुट्टा केही बांगो रहेको देखिएपछि एनआइसियुमा लामो समय बच्चालाई उपचारमा राखिरहेकै अवस्थामा साहले बच्चा छोडेकी हुन्।
उनले बच्चाको बाँकी जिम्मा अस्पतालले नै लिनुपर्ने अडान राख्दै आएकी छिन्।
अस्पतालले लापरबाही नगरेको भन्दै सो बच्चा साहले नै जिम्मा लिनुपर्ने बताएको छ।
यी पनि :
गायत्री साह भन्छिन्- बच्चा मेरो मुटु हो, तर अहिल्यै अस्पतालबाट डिस्चार्ज लिन्नँ
अस्पतालमा 'होहल्ला' गरेको भन्दै पूर्वसांसद गायत्री साह पक्राउ