भक्तपुरको लोकन्थलीमा एक पसलको काउन्टरबाट ७० हजार रुपैयाँ चोरी भयो।
पसलमा नै आएका एक दम्पत्तिले काउन्टरबाट रकम निकालेको पत्ता लगाए पनि उनीहरूको पहिचान हुन सकिरहेको थिएन।
त्यसै प्रकृतिको घटना फेरि केही दिनपछि लोकन्थलीमा दोहोरियो। काउन्टरबाट ३० हजार हराएपछि पसलेले प्रहरीमा उजुरी दिए। पैसा चोरी भएपछि प्रहरीले सो क्षेत्रमा निगरानी बढायो। सिसिटिभी फुटेजहरू निकालेपछि मंगलबार महानगरीय अपराध महाशाखाबाट खटेको टोलीले लोकन्थलीबाट एउटा कारलाई पछ्यायो।
सो कारलाई त्रिभुवन विमानस्थलको गोल्डेन गेटबाट नियन्त्रणमा लियो। कारमा ५ जना थिए। एक जना चालक र एक पाकिस्तानी दम्पत्ति। उनीहरूका डेढ र साढे चार वर्षका छोराछोरीहरू पनि थिए। कारमा रहेका पाकिस्तानी दम्पत्ति मनसिंह खान र पूजा खानलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरू गर्यो।
सूर्यविनायक र लोकन्थलीको पसलबाट हराएको रकम उनीहरूले नै चोरी गरेको प्रहरीले अनुसन्धानबाट पत्ता लगायो।
उनीहरू ३ महिना अघि नै नेपाल आएको खुल्न आएको छ। उनीहरूको पर्यटक भिसा १५ दिनपछि एक्सपायर हुँदैछ।
उनीहरूले यस्तै गरेर एक महिना अघि बुटवलबाट एक लाख ७० हजार चोरी गरेको खुल्न आएको महाशाखाका एसएसपी सहकुलबहादुर थापाले जानकारी दिए।
दम्पत्ति नै मिलेर काउन्टरबाट रकम निकाल्ने र कतिपय स्थानमा नेपाली पैसा कस्तो हुन्छ भन्दै गनेको जस्तो गरेर जादुमय तरिकाले रकम निकाल्ने गरेको थापाले बताए। उनीहरूले प्रयोग गर्ने गरेको गाडी भाडामा लिएको खुल्न आएको छ।
उनीहरूविरूद्ध प्रहरीले चोरी मुद्दा दायर गर्ने तयारी गरेको छ।