अमेरिकाको अलास्कास्थित केत्चिकनमा सोमबार दुइटा साना विमान आकाशमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ। एघार र पाँच जना यात्रु बोकेका दुई विमान एकआपसमा ठोक्किएर दुर्घटना भएको बिबिसीले जनाएको छ।
एघार जना यात्रु सवार विमान केत्चिकनकै ताकुवान एअरद्वारा सञ्चालित छ। यो विमानका यात्रुलाई उपचारका निम्ति अस्पताल लगिएको छ। विमानका पाइलटबारे कम्पनीले जानकारी दिएको छैन।
पाँच जना सवार विमानका पाइलटसहित तीन जनाको मृत्यु भएको छ। उनीहरू तीनै जना अमेरिकी नागरिक थिए।
अर्का एक जना मृतक कुन विमानमा थिए भन्ने यकिन भएको छैन। त्यस्तै दुई जना अझै वेपत्ता छन्।
दुवै विमानमा रोयल प्रिन्सेस क्रुज सिपका पर्यटक थिए। उनीहरू सात दिने भ्रमणमा हिँडेका थिए। कम्पनीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै दुर्घटना स्थानीय समयानुसार १ बजे भएको जनाएको छ।
दुर्घटनामा परेका विमान क्यानडाको भ्यानकोभर सहरबाट अलास्काको एंकोरेजको रूटमा आउँदै थिए।
घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ भने बाँकीको सामान्य छ। मृतकमध्ये एक जना क्यानाडाका नागरिक रहेको पनि पुष्टि भएको छ।
दुर्घटनाको कारणबारे छानबिन भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।