कल्पना बैजुले जेष्ठ नागरिकको हेरचाह गरेर इजरायलमा सात वर्ष बिताइन्। उनका श्रीमान सुन्दर सुवाल पनि उतै काम गर्थे। कमाइ राम्रै थियो, तर एकदिन कल्पनालाई त्यस्तै काम नेपालमा गर्न मन लाग्यो।
सुन्दरलाई पनि उनको कुरा चित्त बुझ्यो। २०६७ सालमा दुबै नेपाल फर्किए।
यहाँ आएर २०६९ सालमा उनीहरूले भक्तपुरमा सहारा हेरचाह केन्द्र स्थापना गरेका छन्, जहाँ अहिले ५४ देखि १०३ वर्ष उमेरका ३० जना जेष्ठ नागरिक बस्छन्।
‘सात वर्ष इजरायलमा काम गर्दा अर्काका आमाबाबु स्याहार गरेजस्तो लाग्थ्यो, जागिर हो भन्नेमात्र सोचिन्थ्यो,’ कल्पनाले भनिन्, ‘त्यही काम यहाँ गर्दा आफ्नै आमाबाबुको हेरचाह गरेजस्तो भइरहेको छ। कमाइ छैन, तै मनमा सन्तोक हुन्छ।’
बुढेसकालमा कसैलाई पनि एक्लो हुने अवस्था नआओस् भनेर यस्तो सुरुआत गरेको उनले बताइन्।
कल्पनाका श्रीमान् कलेज पढाउँछन्। बाँकी समय सहारा हेरचाह केन्द्रमै बिताउँछन्। यहाँ प्यारलाइसिस, अल्जाइमर्स लगायतका बिरामीदेखि घरपरिवारबाट निकालिएका वा परिवारमा कोही नभएका जेष्ठ नागरिकहरू आश्रित छन्।
कल्पना ती सबैकी सहारा हुन् भने कल्पनाका लागि ती सबै अभिभावक।
‘कोही आमाबाबुले दिसापिसाब आएको थाहा पाउनुहुन्न। खाना खाए-नखाएको थाहा पाउनुहुन्न,’ उनले भनिन्, ‘खाना खुवाउने, सरसफाइ गर्ने र उहाँहरूको जीवन सहज बनाउने प्रयास गरिरहेको छु।’
यहाँ बस्न आउने जेष्ठ नागरिकका लागि कुनै रकम तोकिएको छैन। उनीहरूले स्वैच्छिक रूपमा मासिक ३ हजारदेखि १० हजारसम्म बुझाउँछन्। कोही निःशुल्क बसेका छन्।
‘हामीले यति-उति भनेर तोकेका छैनौं। सबैले आफ्नो हैसियतअनुसार पैसा दिनुहुन्छ,’ उनले भनिन्, ‘आमाबुबालाई हामीले नै औषधि खुवाउने गरेका छौं।अस्पताल लगेर स्वास्थ्य परीक्षण गराउँछौं। कतिले औषधीको पैसा दिनुहुन्छ, कतिलाई सम्झाउँछौं। नदिनेहरूलाई पनि बल गर्दैनौं।’
हेरचाहमा समस्या नआओस् भनेर यहाँ ३० जनाभन्दा बढीलाई राखिएको छैन। पकाउने, खुवाउने कर्मचारी पनि छन्। जेष्ठ नागरिकका लागि हरेक दिन नयाँ-नयाँ खाजा खुवाइन्छ। कहिले फलफूल, कहिले खिर, कहिले मासु-चिउरा त कहिले भुटन-चिउरा। सीतापाइलाकी ८४ वर्षीया महालक्ष्मी बानियाँ र उनका श्रीमान यहाँ बसेको चार वर्ष भयो। श्रीमानलाई प्यारालाइसिस भएको छ। छोराछोरी छैनन्। जेठाजुका छोराछोरीले यहाँ बस्ने खर्च बेहोरिदिएको उनले बताइन्।
इजरायलबाट फर्केर हेरचाह केन्द्र चलाउन खोज्दा सुरूमा धेरैले कल्पनाको खिसी गरेका थिए। जग्गा-जमिन जोड्नुको साटो नचाहिँदो ठाउँमा पैसा खर्च गरेको पनि भन्न भ्याए।
कल्पनालाई पनि यी कुनै प्रतिक्रियाले असर गरेनन्। आज आएर कल्पनालाई ठीक निर्णय गरिएछ भन्ने लाग्छ।
किन बूढाबूढी स्याहार्न थाल्नुभयो भन्ने प्रश्नमा उनले भनिन्, ‘म पनि कुनै दिन यसरी नै वृद्ध बन्छु। त्यो बेला मेरा छोराछोरीले समय दिन सकेनन् भने के हुन्छ? छोराछोरीले मन भएर पनि नभ्याउन सक्छन्। त्यस्तो अवस्थामा यस्ता स्याहार केन्द्र आवश्यक पर्छ।’
कल्पनालाई यसबाट नाफा नभए पनि घरको पैसा ल्याएर चलाउन नपरेको उनले बताइन्।
‘जेष्ठ नागरिकका लागि आएको पैसाले मात्रै त कहाँ पुग्छ र? विभिन्न सामाजिक संघ-संस्थाले सहयोग गर्छन्,’ उनले भनिन्, ‘प्रयोगात्मक अभ्यासका लागि आउने कलेजहरूले सहयोग गर्छन्। जन्मदिन वा आमाबाबुको तिथिमा आउनेहरूले पनि केही न केही दिने गरेका छन्। त्यही रकमले यो संस्था चलाउन सहयोग पुगेको छ।’
जेष्ठ नागरिकको स्वभावमा भने इजरायल र यहाँ कुनै फरक नपाएको उनको अनुभव छ। राज्यले गर्ने व्यवहारमा भने आकाश-पाताल फरक रहेको उनले बताइन्।
‘उता सरकारले पनि व्यवस्थित गर्ने गरेको छ, नेपालमा भने जेष्ठ नागरिकप्रति सरकारको ध्यान छैन,’ उनले भनिन्।
ठाउँ साँघुरो भएकाले सोचेजस्तो हेरचाह गर्न नसेकेकोमा कल्पनालाई असजिलो भइरहेको छ। एउटा बगैंचासहितको फराकिलो ठाउँमा आमाबाबुलाई राख्न पाए कस्तो हुँदो हो भन्ने उनलाई लागिरहेको छ।
‘त्यसका लागि उपयुक्त ठाउँमा जग्गा खोजिरहेकी छु,’ उनले भनिन्, ‘सहयोगी मनहरूले साथ पनि दिइरहेकै छन्।’