वन्यजन्तुबाट क्षति व्यहोरेका किसानलाई सल्यानमा राहत वितरण गरिएको छ।
आइतबार डिभिजन वन कार्यालय सल्यानले वन्यजन्तुबाट क्षति व्यहोरेका किसान र वन्यजन्तुको आक्रमणमा परी घाइते भएका सर्वसाधारणलाई राहत रकम वितरण गरेको हो।
बँदेलबाट मकै बालीमा क्षति व्यहोरेका १३ जना किसानलाई क्षतिको आधारमा प्रतिव्यक्ति ८ देखि १० हजारसम्म राहतस्वरूप रकम प्रदान गरिएको डिभिजन वन कार्यालय सल्यानका रेन्जर अञ्जना शर्माले जानकारी दिइन्।
उक्त रकम प्राप्त गर्ने सबै किसान कपुरकोट गाउँपालिका क्षेत्रका मात्रै हुन्। जिल्लाको अन्य क्षेत्रका किसानले राहतको माग गर्दै वन कार्यालयमा निवेदन नदिएको तर कपुरकोट गाउँपालिका क्षेत्रका किसानले मात्रै निवेदन दिएको हुँदा त्यही आधारमा राहत रकम उपलब्ध गराइएको शर्माले बताइन्।
त्यस्तै, भालुको आक्रमणबाट घाइते भएका शारदा नगरपालिका वडा नं. ५ निवासी सुजन थापा र सोही ठाउँकै भीमकुमारी श्रेष्ठलाई पनि राहत स्वरूप रकम प्रदान गरिएको छ।
थापालाई ३१ हजार १ सय २९ रुपैयाँ र श्रेष्ठलाई ५८ हजार ९ सय ८४ रुपैयाँ प्रदान गरिएको छ।
उनीहरूलाई उपचारवापत उक्त रकम उपलब्ध गराइएको रेञ्जर शर्माले बताइन्।
चितुवाको आक्रमणमा परी घाइते भएकी जिल्लाको शारदा नगरपालिका वडा नं. १२ निवासी राधिका बोहोराले पनि उपचार खर्च बापतको रकम माग गर्दै निवेदन दिएको रेञ्जर शर्माले जानकारी दिएकी छन्।
वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ को तेस्रो संशोधन २०७५ अनुसार बाँके राष्ट्रिय निकुञ्जले उक्त राहत रकम उपलब्ध गराएको हो।
सम्बन्धित किसानको खेतबारीमै पुगेर कृषि कार्यालयका प्राविधिकहरूले क्षतिको मूल्यांकन गरेर वन कार्यालयमार्फत् वन निर्देशनालय सुर्खेत पठाए अनुसार रकम उपलब्ध भएको कार्यक्रममा जानकारी दिइएको थियो।
वन निर्देशनालयले बाँके राष्ट्रिय निकुञ्जलाई आवश्यक कागजातसहितको फाइल पठाएपछि राहत रकम प्राप्त भएको हो।
जंगली जनावरबाट क्षति व्यहोरेका किसान र घाइते सर्वसाधारणले भने क्षति अनुरूपको रकम नपाएको गुनासो गरेका छन्।
‘राज्यले थोरै भए पनि राहत दियो, त्यसमा खुसी छौं,’एकजना किसानले भने ‘तर हाम्रो मिहिनेतको वास्तविक क्षतिको मूल्याङ्कन र त्यो अनुरुप राहत भने हामीले पाउन सकेका छैनौं।’
क्षति अनुरुपको राहत नपाउँदा किसान मर्कामा परेको ती किसानले बताए।