सहरमा बस्ने नेपालीहरुले खुल्ला स्थान देख्नै नपाउने अवस्था बन्दै गएको छ। रुखबिरुवासँग सम्पर्क टुटेको छ। माटोको गन्ध सुँघ्न पाउँदैन। न बग्ने पानीको आवाज सुनेको छ, न ताजा पानीको बासना नै थाहा छ। सहरिया शरीरले न त पुग्ने गरी हावाको स्पर्श लिन्छ, न घामको।
हामी सहरका मानिसलाई जंगलमा स्थानान्तरण गर्न सक्दैनौं। न त सहरलाई जंगलमा बदल्न सक्छौं। तर, सहरमा रुख रोप्न सक्छौं, हरियाली बढाउन सक्छौं। खाली ठाउँ खोजेर र ठाउँ खाली गरेर सानाठूला पार्क बनाउन सक्छौं। ती पार्कमा एकैछिन हिँडेर, डुलेर मानिसले तनाव कम गर्न सक्छन्। रमाउन सक्छन्। खुसी हुन सक्छन्।
तर राजधानीमा यस्ता खुल्ला ठाउँ अभाव छन्। बालबालिका खेल्ने मैदान छैनन्। सेतोपाटीले केही समययता राजधानीमा दुई विशाल पार्कको आवश्यकता माथि लेख्दै आएको छ। अझ मध्यसहरमा रहेको सैन्य हेडक्वाटर हटाएर पार्क निर्माण गर्नुपर्ने विषयमा लेख्दै आएको छ।
पार्कको आवश्यकता देखाउन हामीले यसपटक किर्तिपुरको त्रिभुवन विश्वविद्यालय परिसरमा बालबालिकाहरु रमाएका, वृद्धवृद्धाहरु सुस्ताइरहेका दृश्य खिचेका छौँ। र भन्दै छौँ - खाली ठाउँ, चौर चाहिन्छ यसकारण !