नेपाल खुला विश्वविद्यालय र नेपाल प्रेस इन्स्टिच्युट (एनपीआइ)बीच ६ महिनाभित्र स्नातक तहको आम सञ्चार अध्ययन अन्तरगतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको छ।
नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर लेखनाथ शर्मा र एनपीआइका अध्यक्ष निलकण्ठ उप्रेतीले सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच ६ महिनाभित्र आवश्यक कोर्स तयार गरी स्नातक तहको आमसञ्चार अध्ययन अन्तरगतको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
समझदारी पत्रमा २०७६ साल असोजभित्र स्नातकोत्तर तहको आमसञ्चार शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याउने पनि उल्लेख गरिएको छ।
कार्यक्रममा बोल्दै एनपीआइका अध्यक्ष उप्रेतीले सो कार्यक्रमलाई स्नातक, स्नातकोत्तर हुँदै एपफिल र विद्यावारिधिसम्म सञ्चालन गर्ने लक्ष्य लिइएको पनि स्पष्ट पारे।
देश, विदेशमा रहेका सबै नागरिकले प्रविधिको माध्यमबाट पनि अध्ययन गर्न पाउने गरी सो कार्यक्रम सञ्चालन गर्ने दाबी पनि गरिएको छ।
यस शैक्षिक कार्यक्रममा भर्ना हुन चाहने व्यक्तिको योग्यता प्राज्ञिक परिषदले निर्धारण गरे बमोजिम हुनुपर्नेछ। शुल्क निर्धारण र अन्य पक्षका सम्बन्धमा निकट भविष्यमै जानकारी गराइने नेपाल प्रेस इन्स्टिच्युटले जनाएको छ ।