अनधिकृत रूपमा खुला मञ्चमा बनाइएका सटरहरूका लागि ठेकेदार कम्पनीले मोटो रकम असुलेको खुलासा भएको छ।
पुरानो बसपार्कमा भ्यू टावर निर्माणको ठेक्का पाएको जलेश्वर स्वच्छन्द बिकोइ बिल्डर्सले खुला मञ्चमा बनेका सटरहरूको सलामी स्वरुप १५ लाखसम्म असुलेको व्यापारीहरू बताउँछन्।
सटर भाडामा लिँदा लाखौं रुपैयाँ बुझाएको तर अहिले काठमाडौं महानगरपालिकाले सटर भत्काउँदा आफूहरूको बिचल्ली भएको व्यापारीहरूको गुनासो छ। आफूहरूले दुःखजिलो गरेर कमाएको र ऋण खोजेको सबै पैसा खुलामञ्चले खाइदिएको उनीहरू बताउँछन्।
पसलका लागि १० लाख बुझाए पनि एक सातामै पसल भष्म भएको लिला कुमारी धितालले बताइन्।
‘हामीले त पसल चलाउन भनेर ऋण खोजेर १० लाख बुझाएका हौं। महाबौद्धमा बसेर एक-एक मानो बेसार बेचेर कमाएको पैसा पनि थियो। छोराले खर्पनमा च्याउ बेच्थ्यो। अलिकति सजिलो होला भनेर छोराले यहाँ पैसा खन्यायो तर अहिले बिजोग भयो,’ लिलाले भनिन्, ‘हाम्रो कमाएको र ऋणको सबै पैसा खुलामञ्चले खायो। हाम्रो बिचल्ली भयो। उनीहरूलाई छाड्दैनौं।'
यसअघि सटरका लागि आफूहरूले थप रकम नबुझाएको व्यापारीहरूले दाबी गर्दै आएका थिए। सटर बनुन्जेल र भाडामा लागुन्जेल कसैले वास्ता नगरेको र आफू कमाइ खानेहरूको पैसा डुबेपछि भत्काएर अलपत्र पारिदिएको उनीहरूको गुनासो छ।
चौतर्फी दबाबपछि काठमाडौं महानगरपालिकाले डोजर लगाएर सटरहरू भत्काएको हो।
अझै ९ वटा सटरहरू भने भत्काइएको छैन। ती सटरका लागि महानगरसँग सम्झौता भएकाले तत्काल नभत्काइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।
‘सबभन्दा मर्कामा त म परेको छु। मैले त दुइटा सटरका लागि ११ लाख बुझाइसकेको छु। तर पन्ध्र दिन पनि पसल गर्न पाइएन,’अर्की व्यापारी मनमाया खत्रीले भनिन्, ‘वडामा दर्ता गरिन्छ तपाईं आत्तिनु पर्दैन भनेपछि बसपार्क बनाउने ठेकेदारलाई पैसा दिएको हो तर आज हाम्रो पसल भत्काइयो। पैसा उठाउनेहरू देखै परेनन्।’
खत्रीले डेढ लाख रुपैयाँको फलफूल र झण्डै ५ लाखको कपडा पसलमा राखेकी थिइन्।
पुरानो बसपार्कमा भ्यु टावर बनाउने ठेक्का पाएका मनोज भेटवालले खुला मञ्चमा सटर बनाएर भाडामा लगाएका हुन्।
दोलखाका अलबर्ट खड्का सडकमा दाजुसँगै जुत्ता बेचेर बसेका थिए। खुला मञ्चमा सटरमा पसल राख्न पाइने भएपछि त्यो पसल छोडेर खड्का दाजुभाइले चिया पसल सुरू गरे।
‘हाम्रो पसल यहीँ थियो। २१ नम्बर सटर हो। पछि ७ लाख बुझाउने गरी १ लाख सलामी दिएका थियौं,’अल्बर्टले भने, ‘वैशाख १२ गते मात्रै उपमेयर आएर तपाईहरूलाई लिखित जानकारी दिएर मात्रै सटर भत्काइन्छ नआत्तिनुस् भन्नुभएको थियो। तर अहिले एकाएक सटर भत्काइयो।’
खड्का दाजुभाइले सलामी बापतको बाँकी ७ लाख तिर्नका लगि भक्तपुरको जग्गा बेच्ने तयारी गरेका थिए।
कतिपय व्यापारीले सटरको स्थान हेरेर १५ लाखसम्म पनि सलामी तिरिसकेको उनले बताए।
अझै पनि सलामी रकम बुझाएको बारेमा व्यापारीहरू खुलेका छैनन्। उनीहरू महानगर र मिडियासँग आक्रोसित बनेका छन्। सटर बन्दै गर्दा चुप लाग्ने अहिले पसल सुरू गरेपछि हटाउन खोजेर गरिब दुःखीलाई बिचल्ली पारेको उनीहरूको आरोप छ। मिडियालई भनेर मात्रै आफूहरूको लगानी फिर्ता नहुने भन्दै उनीहरूले आक्रोस पोखेका थिए।
डोजर लगाइसकेपछि खुलामञ्च पुगेकी उपमेयर हरिप्रभा खड्गीले यसबारेमा आफू अनविज्ञ रहेको बताएपछि आक्रोसित व्यापारीहरूले उनीमाथि हातपात समेत गर्न खोजेका थिए। हातपात गर्न खोज्नेहरूलाई प्रहरीले पक्रिएको बताइएको छ।
सम्बन्धित समाचारहरू :
उपमेयरको प्रतिवेदन आउन ढिलाइ हुने भएकोले खुलामञ्चमा डोजर: मेयर शाक्य
खुलामञ्चमा डोजर चलेपछि...(फोटोफिचर)