विगत ३ दिनदेखि गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ४, दजाकोटमा फैलिएको झाडापखाला नियन्त्रण भएको छैन । बुधवारदेखि फैलिएको झाडापखालाबाट शुक्रवार सम्म दजाकोट गाउँका एक सय ५० जना भन्दा धेरै व्यक्ति विरामी भएका छन् ।
झाडापखालाले सिंगो गाउँमा नै महामारीको रुप लिएको हो । स्थानीय नुरखोला खानेपानी योजनाको पानी प्रयोग गर्ने दजाकोट गाउँका ८५ घरपरिवारका सबै व्यक्तिहरुमा झाडापखाला लागेको छ ।
स्थानीय हरी छन्तेलले झाडापखालाबाट अहिलेसम्म १ सय ५० जनाभन्दा बढी विरामी परेको जानकारी दिए । विरामीहरुको स्थानीय स्वास्थ्य चौकी, जिल्ला अस्पताल तम्घासमा उपचार भईरहेको छ ।
स्थानीय फुलकुमारी सिंजालीको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ । सिंगो गाउँभरी नै विरामी बढ्दै गएपछि स्वास्थ्य चौकीमा ठाउँ नपुगेपछि विद्यालयमा राखेर उपचार गरिएको मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए ।
स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीसँगै जिल्ला अस्पतालबाट समेत स्वास्थ्यकर्मीहरु गाउंमै पुगेर विरामीहरुको उपचार गरेका छन् । दजाकोटमा झण्डै ५ किलोमिटर टाढाको ट्याङ्कीमार्फत वितरण गरिएको पानी प्रयोगका कारण स्थानीय बिरामी परेका हुन् ।
उक्त खानेपानीमा २ गाउँविच लामो समयदेखि विवाद रहेको मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले बताए । नुरखोला खानेपानीमा लामो समयदेखि केही विवाद समेत रहेको थियो । प्रमुख सापकोटाले भन्छन 'दूषितपानीकै कारण हो या अन्य केही भन्ने छानविन र परिक्षण भैरहेको छ ।'
खानेपानीको विषयमा दजाकोटवासीहरुको केही शंका उत्पन्न भएकाले पानी परिक्षणको लागि पाल्पा पठाइएको प्रमुख सापकोटाले बताए । नुरखोलाको पानी प्रयोग गर्ने अधिकांशमा टाउको दुख्ने, रिंगटा लाग्ने र केही छिनमा ज्वरोसँगै झाडापखाला लाग्ने समस्या देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत महेश श्रेष्ठले जानकारी दिए ।
२०७३ साल वैशाख १८ गते वनमा लागेको डढेलो गाउँमा सल्किएर ५७ घर ध्वस्त भएको दजाकोट गाउंमा फेरी झाडापखालाको महामारी फैलिएको हो । आगलागीबाट सिंगो गाउंनै खरानी भएपछि पुनर्निर्माण हुन नपाउंदै झाडापखालाको महामारी फैलिएपछि स्थानीय दुःखी भएका छन् ।