सन् २०१० देखि २०१७ सम्ममा संसारका करिब १७ करोड बालबालिकाले दादुरा खोपको पहिलो मात्रा छुटाएका छन् जुन औसतमा बर्सेनि २ करोड भन्दा धेरै भएको युनिसेफले जनाएको छ।
खोप नलगाएका बालबालिका रहेका क्षेत्र बढ्दै जाँदा अहिले संसारका कैयन् देशमा दादुरा महामारी फैलिएको छ।
नेपालका केही क्षेत्रमा पनि दादुरा संक्रमण बढेका छन्। सन् २०१८ मा नेपालमा २४७ जनालाई दादुरा संक्रमण भएको थियो जुन सन् २०१७ को तुलनामा साढे दुई गुणा धेरै हो। सन् २०१७ मा यो संख्या ९९ मात्र थियो।
‘आज हामीले केही देशमा देखिरहेको दादुरा महामारीको धरातल केही वर्षअघि नै बनेको थियो,’ युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा फोरले भनिन्, ‘दादुरा भाइरसले खोप नलगाएका बालबालिकालाई भेटिहाल्छ। यदि हामी अहिले यो खतरनाक तर रोक्न सकिने रोगलाई फैलिनबाट रोक्न गम्भीर छौं भने हामीले धनी र गरिब सबै देशका हरेक बालबालिकालाई खोप लगाउनुपर्छ।’
सन् २०१९ को पहिलो तीन महिनामा संसारभर एक लाख १० हजारभन्दा धेरै दादुरा संक्रमण देखिएका छन् जुन गत वर्ष सोही अवधिको तुलनामा करिब तीन गुणा धेरै हो। सन् २०१७ मा, करिब एक लाख १० हजार मानिसको दादुराका कारण मृत्यु भएको थियो जसमा अधिकांश बालबालिका थिए। यो सन् २०१६ को तुलनामा २२ प्रतिशत धेरै भएको युनिसेफले जनाएको छ।
बालबालिकालाई दादुराबाट जोगाउन यसको दुई मात्रा खोप लगाउनु आवश्यक हुन्छ। तथापी, खोपमा पहुँच नहुनु, उचित स्वास्थ्य सेवा कमी, केही ठाउँमा खोपमाथि डर र शंकाजस्ता कारणले सन् २०१७ मा खोपको पहिलो मात्रा लगाउने बालबालिका जम्मा ८५ प्रतिशत थिए।
जनसंख्या वृद्धिका बाबजुद पनि यो संख्या पछिल्लो दशकमा स्थिर थियो। संसारभर दोस्रो मात्रा लगाउने बालबालिका संख्या अझ कम अर्थात् ६७ प्रतिशत थियो। विश्व स्वास्थ्य संगठनले प्रतिरक्षाका लागि खोप लगाउनेको संख्या कम्तीमा ९५ प्रतिशत हुनुपर्ने मापदण्ड तोकेको छ।
पछिल्लो तथ्यांकअनुसार, उच्च आय भएका मुलुकमा खोपको पहिलो मात्रा पाउने ९४ प्रतिशत छन् भने दोस्रो मात्रा पाउने ९१ प्रतिशत मात्र छन्।
उच्च आय हुने मुलुकमध्ये, सन् २०१० देखि २०१७ सम्म खोपको पहिलो मात्राबाट बञ्चित बालबालिकाको संख्या अमेरिकामा सबैभन्दा धेरै छ। अमेरिकामा पछिल्लो आठ वर्षमा २५ लाखभन्दा धेरै बालबालिकाले दादुरा खोप पाएका छैनन्।
दोस्रो र तेस्रो क्रमशः फ्रान्स र युके छन् जहाँ क्रमशः ६ लाख आठ हजार र पाँच लाख २९ हजार बालबालिकाले खोप लगाएका छैनन्।
मध्य र न्यून आय भएका मुलुकमा यो अवस्था निकै चिन्ताजनक छ। सन् २०१७ मा नाइजेरियाका एक वर्षमुनिका करिव ४० लाख बालबालिकाले खोपको पहिलो मात्रा पाएका थिएनन्। सोही वर्ष भारतमा २९ लाख, पाकिस्तान र इन्डोनेसियामा १२ लाख र इथियोपियामा ११ लाख बालबालिकाले पहिलो मात्रा पाएनन्।
संसारभर दादुरा खोपको दोस्रो मात्रा लगाउनेको संख्या अझ कम छ। सन् २०१७ मा खोप नपाएका बालबालिकाको संख्या सबभन्दा धेरै रहेका शीर्ष २० मुलुकमध्ये ९ मुलुकले दोस्रो मात्रा सुरू नै गरेका छैनन्।
उपसहारा अफ्रिका क्षेत्रका २० देशले उनीहरूको राष्ट्रिय खोप तालिकामा दोस्रो मात्रा संलग्न गरेका छैनन् जसले वार्षिक रुपमा एक करोड ७० लाखभन्दा धेरै शिशुको जीवन जोखिममा पारेको छ।
युनिसेफले मिजल्स एण्ड रुबेला इनिसियटिभ र गाभी, द भ्याक्सिन अलायन्सजस्ता साझेदारहरूसँग मिलेर दादुराको यो संकटलाई सम्बोधन गर्ने प्रयास गरिरहेको जनाएको छ। दादुरा खोपको मूल्य सधैं कम राख्ने, सेवा नपुगेका क्षेत्र र बालबालिकाको पहिचानमा विभिन्न देशलाई सहयोग गर्ने, खोप र सम्बन्धित सामग्री खरिद गर्ने, सम्बन्धित देशलाई राष्ट्रिय खोप तालिकामा दोस्रो मात्रा सुरू गर्न सहकार्य गर्ने लगायत काम भइरहेको युनिसेफले जनाएको छ।
‘दादुरा टाढासम्म फैलिन्छ,’ युनिसेफकी कार्यकारी प्रमुख फोरले भनिन्, ‘सबैका लागि प्रतिरक्षा बढाउन यसले समेट्ने क्षेत्र बढाउने मात्र नभई उपयुक्त मात्रामा खोपको दर कायम राख्नु पनि महत्वपूर्ण छ।’