चौतारी वृद्धवृद्धाको बसिबियाँलो गर्ने ठाउँ बनेको छ। घरका सदस्य व्यस्त हुँदा दिनभरि उनीहरू सडक किनाराका चौतारी र प्रतीक्षालयमा रमाउँछन्। बढ्दो सहरीकरणसँगै चौतारीहरू लोप पनि हुन थालेका छन् । इँटाढुङ्गाले चिनेर बनाइएका अग्लो पेटी र बीचमा वर–पीपलसहितका चौतारी मुश्किलले भेटिन्छन्। बजार क्षेत्रका चोकमा यात्रु सुस्ताउने र सवारी कुरेर बस्न बनाइएका चौतारी कहीँकतै भेटिन्छन् । सडक किनारमा प्रतीक्षालय पनि बन्न थालेका छन् । यी ठाउँमा यात्रु प्रायः देखिँदैनन् ।
चितवन जिल्ला, भरतपुर महानगरपालिका–११ विशाल चोकमै वरपीपलको रुख छ । नजिकै प्रतीक्षालय छ । यहाँको छहारीमा प्रायः वृद्धवृद्धा नै सुस्ताइरहेका भेटिन्छन् । भरतपुर–११ का ८५ वर्षीय जगन्नाथ सुवेदी यहीँ चौतारीमा दिनहुँ भेटिन्छन्। भानु नगरपालिका तनहुँमा जन्मिएका सुवेदी चितवनमा बस्ती सुरू हुन थालेपछि झरेका थिए। जागिरका सिलसिलामा उनी ‘पञ्चायत विकास अधिकारी’ (पिडिओ) का रूपमा २०१७ सालमा पहिलो पटक चितवन आए। उनका श्रीमती, दुई छोरी र एक छोरा छन्। सबै रोजगारीका लागि व्यस्त छन् । छोरा मधु २२ वर्षदेखि बेलायतमा छन्। एक एक नाति नातिनी पनि उतै छन् । छोरीहरूको बिहेबारी भइसक्यो । ‘दिन कटाउन यहीँ चौतारीको सहारा लिएको छु’, उनले भने, ‘प्रायः बिहान १० बजेदेखि यहीँ आउँछु, मजस्तै अरुलाई भेट्छु्, गफ गर्यो, बस्यो ।’
दिनभरि देशको अवस्थाबारे निकै मीठो गफ चल्छ । जीवन भोगाइबारेका कथा एकार्काले सुनाउँछन् ।
‘छोरा कृषि विज्ञका रूपमा केही समय नेपालमै काम गरेको हो’, उनी सम्झन्छन्, ‘अहिले परिवारसहित बेलायतमै छ, अत्यार लाग्दा बोलाउँछु।’
नातिनी बेलायतमै बिएस्सी पढ्दैछिन्।
‘छोरीको पढाइ सकेपछि नेपाल आउँछु, नआत्तिनू बुबा भनेर छोराले सुनाउँछ’, उनले भने, ‘यही चौतारी नै घरजस्तो लाग्छ, परिवारकै सदस्यसँगै बसेजस्तो अनुभव हुन्छ।’
त्रिहत्तर वर्षीय टीकाराम पौडेल पनि दिनभर जमघटमै बस्न रुचाउँछन्। उनी घर सुनसान बनेपछि चौतारीमै आइपुग्छन्।
एक छोरा १० वर्षदेखि अस्ट्रेलियामै छन्। चार छोरी पनि आफ्नै कर्मघरमा व्यस्त छन् । बेलाबेला नातिनातिना आउँछन् । अरु बेला घर सुनसान बन्छ । उनले करिब २६ वर्षसम्म वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा लेखा र पुस्तकालयमा काम गरेका थिए। उनी विसं २०२७ मा स्याङ्जा बाङ्सिङबाट चितवन झरेका थिए।
‘जागिरमा हुँदा एक्लो महशुस भएन’, उनले भने, ‘अहिले जागिर पनि छैन, छोराछोरी पनि नजिकै छैनन्, सन्तानको अभाव जस्तो लाग्दोरहेछ।’ रोजगारीका लागि विदेशिएपछि धेरै वृद्धवृद्धले आफूले एक्लो महशुस गर्दै चौतारीमा आइपुगेको बताउँछन्।
‘देशमै काम गरेको भए हामीलाई पनि सन्तोष मिल्थ्यो’, उनी भन्छन्, ‘बूढेसकालमा सहारा बढी चाहिने रहेछ, बरु स्वदेशमै लगानी गरेर बसे हुन्छ भनेर सम्झाउने गरेको छु।’
वृद्धवृद्धाकै आग्रहमा चौतारीमा कङ्क्रिटका कुर्सी राखिएका छन् । केहीले आफ्नै बचत रकममा कुर्सी बनाएका छन्। यहाँ एकै पटक ३० जना बस्न मिल्छ । कुनै बैठककै झल्को देखिन्छ । वरपीपलको छहारीले वृद्धवृद्धालाई ऊर्जा दिन्छ । पञ्चायतकालमा कुनै पार्टीको केन्द्रीय सदस्यसमेत बनेका थमनारायण लामिछाने उमेरले ७३ वर्षको भयो। पहिला राजनीतिमा निकै सक्रिय थिए। जाँचबुझ समितिको पनि जिम्मेवारी सम्हालेको अनुभव उनीसँग छ । अहिले उनलाई चौतारी नै प्यारो बनेको छ । दुई छोरामध्ये जेठो सुमन र कान्छो अमन अष्ट्रेलियामा छन् । उनीहरू विदेशिएको झण्डै १० वर्ष भयो ।
‘कान्छो छोरालाई मैले नै पठाएकै हो, ठूलोलाई यहीँ क्याम्पस पढाएर बस भनेको थिएँ”, उनले भने, ‘तर सबैले विदेश नै ताक्ने हुँदोरहेछ, आखिर दुई वटै छोरा विदेशिए ।’
उनी छोराहरूले आफूलाई “उतै जाऊँ” भन्दा नेपाल छाड्न मन नलाग्ने बताउँछन्।
‘एक्लै कसको घरमा जानू, काम गर्न अलिअलि सकिन्थ्यो होला, कामै छैन’, उनले भने, ‘अहिले तर शरीरमा अलिकति तागत छ, पिर छैन तर पछि बिरामी पर्दा स्याहार गर्न को आउलान् भन्ने पिर पर्छ।’
चौतारीमा भेटिएका यी प्रतिनिधिमूलक पात्र हुन् । दिनभरि चौतारीमा रमाए पनि घर पुगेपछि उनीहरू निकै चिन्तामा पर्छन्। छोराछोरीले कमाए पनि साथमा नहुँदा उनीहरू निराश बन्छन्। वैदेशिक रोजगारीले गर्दा ज्येष्ठ नागरिकहरू एक्लिएका छन् ।