नेपाली सेनाको कार्यक्रममा निजी सञ्चार माध्यमलाई प्रवेशमा रोक लगाइएको छ।
नेपाली सेनाको मुख्यालय जङ्गी अड्डाको अत्याधुनिक प्रविधियुक्त नयाँ भवन उद्घाटन गर्ने कार्यक्रममा निजी मिडियालाई प्रवेशमा रोक लगाइएको हो।
राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीले नवनिर्मित जङ्गी अड्डा भवनको सैनिक मुख्यालयमा आयोजना हुने विशेष समारोहकाबीच उद्घाटन गर्ने कार्यक्रम छ।
गोरखा भूकम्पपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट स्वीकृत भएकामध्ये छोटो अवधिमा गुणस्तरयुक्त ढंगबाट निर्माण सम्पन्न भएको यो नै सबैभन्दा ठूलो आयोजना हो।
विसं २०७३ जेठ २४ गते निर्माण सुरू भएको उक्त भवन दुई वर्ष १० महिनाको अवधिमा तयार गरेको हो। उक्त भवन निर्माणका लागि दैनिक ४ सयको सङ्ख्यामा जनशक्ति अहोरात्र खटिएका थिए।
सैनिक मुख्यालयको नयाँ भवन निर्माण गर्न प्राधिकरणमार्फत् सरकारले रु तीन अर्ब ४४ करोड रकम विनियोजन गरेको थियो।
उक्त भवनबाट नेपाली सेनाका महानिर्देशनालय, विभाग, निर्देशनालयसहित ४७ वटा कार्यालय सञ्चालन हुनेछ। अलग/अलग सातवटा भवन जोडेर तयार गरिएको नयाँ सैनिक मुख्यालय भवन सात तला अग्लो छ।
सैनिक मुख्यालयको सङ्गठन संरचना अनुसारको सुविधा उपलब्ध गराउने हेतुले सरकारले आधुनिक र प्रविधियुक्त भवन निर्माण गर्ने निर्णय गरेको थियो ।
नेपाली सेना मुलुकको प्रमुख सुरक्षा अङ्ग हो। नेपालको संविधानको धारा २६७ मा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रियहितको रक्षाका लागि संविधान प्रतिबद्ध समावेशी नेपाली सेनाको व्यवस्था गरिएको छ ।