दाङमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने थप दुई जना गम्भीर घाइते भएका छन्।
दुर्घटनामा परी लमही नगरपालिका वडा नं. ७ उचानिम्वु निवासी अन्दाजी २०/२२ वर्षीय लालु चौधरीको मृत्यु भएको हो।
आइतबार मध्यराततिर दुर्घटनामा परेका चौधरीको उपचारका क्रममा सोमबार बिहान सवा १ बजेतिर लमही अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
मृतक मोटरसाइकल चालक हुन् भने मोटरसाइकलको पछाडि सवार थप दुई जना गम्भीर घाइते भएका छन्।
घाइते हुनेहरूमा सोही ठाउँकै १५/१६ वर्षीय आशिष चौधरी र लमही नगरपालिका वडा नं. ३ मजगाउँ निवासी १३ वर्षीय प्रकाश घर्ती मगर रहेका छन्।
दुवैजना घाइतेलाई लमहीको प्रारम्भिक उपचारपछि थप उपचारको लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा ‘रेफर’ गरिएको छ।
जिल्ला प्रहरी प्रवक्ता विनोद विक्रम शाहका अनुसार पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ९१६७ नम्वरको ट्रकमा सोही दिशा तर्फ जाँदै गरेको रा ३ प ७९५ नम्वरको मोटरसाइकल पछाडिबाट ठोक्किँदा उक्त दुर्घटना भएको थियो ।