लुक्लाबाट आएको तारा एयरको जहाज अवतरणको क्रममा धावनमार्गबाट चिप्लिदा रामेछापको मन्थली विमानस्थल बन्द भएको छ।
सोमबार बिहान ताराको ‘नाइन एनएकेके’ नेपाली दर्ता नम्बर भएको ड्रोनियर जहाजको रनवेमा चिप्लिएको थियो। हाइड्रोलिकमा समस्या आएर चिप्लिएको हुनसक्ने विमानस्थल कार्यालयको प्रारम्भिक अनुमान छ।
जहाज चिप्लिएपनि यसबाट कुनै मानवीय क्षति नभएको विमानस्थल प्रमुख अमितकुमार चौरासियाले जानकारी दिए।
धावनमार्गबाट जहाज चिप्लिएपछि विमानस्थल बन्द गरिएको छ। जहाज नहटाएसम्म विमानस्थल सुचारू नहुने चौरासियाले बताए।
जहाज हटाउन र त्यसको प्राविधिक परीक्षणका लागि नागरिक उड्डयन प्राधिकरण केन्द्रीय कार्यालयबाट मन्थली गइसकेको छ।
उक्त टोलीले जहाजको परीक्षण र हटाउने काम गरेपछिमात्र विमानस्थल खुल्ने चौरासियाले जानकारी दिए।