भारतीय राजदूतावास काठमाडौंले सिन्धुपाल्चोकको लिसंखु गाउँमा रहेको छ्योइफेल कुन्देलिङ गुम्बाको पुनर्निर्माण गरेको छ।
पुनर्निर्मित गुम्बाको गुरू स्याल्पा तेन्जिङ् रिम्पोछेले उद्घाटन गरे। कार्यक्रममा भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. अजय कुमारको उपस्थिति थियो।
गुम्बा पुनर्निर्माणका अतिरिक्त १ करोड ८९ लाख अनुदान सहयोगमा आवास, भान्छा, सरसफाई सुविधा तथा कम्पाउण्ड पर्खाल जस्ता थप संरचनाहरुको निर्माण गरेको छ।
वास्तुकला डिजाइन, नक्सा र लागत अनुमान तयार पारी एवम् गुम्बा निर्माणको सुपरिवेक्षण गरी जिल्ला समन्वय समिति चौताराले उक्त परियोजनाको कार्यान्वयन गरेको हो।
लिसंखु गाउँवासीको सक्रिय पहल तथा योगदानमा सन् १९४६ मा सो छ्योइफेल कुन्देलिङ गुम्बाको निर्माण भएको थियो।
बौद्ध धर्म शिक्षा, थाङ्का चित्रकला, काष्ठकला तथा मूर्तिकला जस्ता विविध सामाजिक–साँस्कृतिक क्रियाकलापहरुमा गुम्बाको संलग्नता रहदै आएको छ । उक्त गुम्बा एक महत्वपूर्ण सम्पदा मात्र नभएर त्यहाँ अवस्थित मानिसहरुको सामाजिक–साँस्कृतिक जीवनको अभिन्न पाटो पनि हो।