खगोलविद्हरूले पहिलो पटक ब्ल्याक होलको क्षितिजको तस्बिर सार्वजनिक गरेका छन्। संसारभरिका रेडियो दुरविनहरूलाई एम ८७ आकाशगंगाको केन्द्रमा रहेको एउटा ब्ल्याक होलमा केन्द्रीत गरेर प्रकाशको पृष्ठभूमिमा त्यसको क्षितिजको तस्बिर खिचिएको हो।
त्यसरी खिचिएका तस्बिरहरू विश्वभरका ६ ठाउँमा एकैसाथ पत्रकार सम्मेलन गरेर बुधबार सार्वजनिक गरिएका छन्।
‘समय र स्थानको अन्त्यमा रहेको नर्कको ढोका हामीले देखेका छौं,’ नेदरल्याण्डको र्याडबाउन्ड विश्वविद्यालयका खगोल भौतिकशास्त्री हिनो फाल्कले ब्रसेल्सको पत्रकार सम्मेलनमा भने,‘जब तपाईं समय र स्थानको अवसान भएपछि उत्पन्न आगोको घेरालाई हेर्नुहुन्छ, प्रकाश त्यसको वरिपरिबाट जान्छ र त्यो वृत्तजस्तो देखिन्छ।’
हिजो तस्बिर सार्वजनिक भएको त्यो ब्ल्याक होल पृथ्वीबाट झन्डै पाँच करोड ५० लाख प्रकाश वर्ष टाढा छ। प्रतिसेकेन्ड तीन लाख किलोमिटर गति भएको प्रकाशले १ वर्षमा पूरा गर्ने दूरीलाई प्रकाश वर्ष भनिन्छ। त्यो ब्ल्याक होलको तौल (मास) सूर्यको भन्दा साढे ६ अर्ब गुणा धेरै छ।
ब्ल्याक होलको क्षितिजभित्र गुरूत्वाकर्षण एकदमै धेरै हुन्छ। एक पटक त्यसमा पसिसकेपछि अरूथोकको त के कुरा प्रकाश पनि निस्कन सक्दैन।
क्यालिफोर्नियाको स्टान्फोर्ड विश्वविद्यालयका खगोल भौतिकशास्त्री रोजर ब्लान्डफोर्डले ब्ल्याक होलका तस्बिर लिन सक्नुलाई एकदमै ठूलो उपलब्धी बताएका छन्।
‘म विद्यार्थी हुँदा यस्तो सम्भव हुन सक्छ भन्ने कहिल्यै सपना पनि देखेको थिइनँ। यसले सामान्य सापेक्षताको सिद्धान्तले बलियो गुरूत्वाकर्षणको सही व्याख्या गर्छ भन्ने फेरि पुष्टि गरेको छ,’ उनले भने।
के पृथ्वीलाई कुनै ब्ल्याक होलले निल्न सक्छ?
वैज्ञानिक अल्वर्ट आइन्स्टाइनले झन्डै एक सय वर्षअघि आफ्नो सामान्य सापेक्षताको समिकरणबाट ब्ल्याक होल हुन सक्ने पत्ता लगाएका थिए। कुनै पनि ठाउँमा यदि एकदमै धेरै पिण्ड (मास) र शक्ति एकीकृत भयो भने समय र स्थानको अन्त्य हुने उनको समिकरणले देखाएको थियो। त्यस्तो कुरा सम्भव हुन सक्नेमा आइन्स्टाइन आफैं भने विश्वस्त थिएनन्। पछि अरू वैज्ञानिकहरूले साँच्चै त्यस्ता ब्ल्याक होलहरू अस्तित्वमा छन् भनी आइन्स्टाइनको समिकरण सही भएको पत्ता लगाएका थिए।
त्यस्ता ब्ल्याक होलहरूमा कुनै पनि पिण्ड वा प्रकाश पस्यो भने अनन्तकालका लागि त्यसैमा विलिन हुन्छ। त्यस्ता ब्ल्याक होलहरू ब्रह्माण्डमा छरपस्ट रहेको वैज्ञानिकहरूको विश्वास छ।
ब्रह्माण्डमा यति धेरै ब्ल्याक होलहरू छन् कि तिनीहरूलाई गन्न असम्भव छ। तर पनि हाम्रो पृथ्वीलाई तान्ने गरी नजिक भने कुनै पनि ब्ल्याक होल छैनन्। हाम्रो मिल्की वे आकाशगंगालगायत पृथ्वीबाट देखिने झन्डै १०० अर्ब अरू आकाशगंगाका हरेक केन्द्रमा विशाल आकारका ब्ल्याक होल हुन सक्ने लक्षणहरू देखिएका छन्। जति ठूलो आकाशगंगा भयो त्यसको केन्द्रको ब्ल्याक होल त्यति नै ठूलो हुन्छ। किन त्यस्तो हुन्छ भन्ने वैज्ञानिकहरूले अहिलेसम्म पत्ता लगाउन सकेका छैनन्।
केन्द्रमा हुने भीमकाय ब्ल्याक होलबाहेक आकाशगंगामा अरू पनि ब्ल्याक होल हुन्छन्। कुनै पनि ताराको इन्धन समाप्त भएपछि ती ताराहरू विनास भएर पनि ब्ल्याक होलको रूप लिन्छन्।
सिद्धान्तत: कुनै पनि वस्तुलाई निचोरेर एकदमै सानो बनायो भने त्यो ब्ल्याक होल बन्छ। यदि हाम्रो पृथ्वीलाई निचोरेर एउटा केराउको दानाजत्रो पारियो भने पृथ्वी पनि ब्ल्याक होल बन्न सक्छ।
व्यवहारिक कुरा गर्ने हो भने पृथ्वीलाई निल्नेगरी नजिक कुनै ब्ल्याक होल अहिले अस्तित्वमा छैन। सूर्यको इन्धन सकिए पनि यसको पिण्ड ब्ल्याक होल बन्न पर्याप्त नभएको वैज्ञानिकहरूको ठहर छ।
(एजेन्सीहरूको सहयोगमा)