वर्षौंदेखि रहस्यमा रहँदै आएको 'ब्ल्याक होल' को तस्बिर खिच्न खगोलशास्त्रीहरू सफल भएका छन्। अनन्त अन्तरिक्षमा रहेको ब्ल्याक होलमाथि कयौं वर्षदेखि अनुसन्धान हुँदै आएको थियो।
वैज्ञानिकहरूले 'दैत्य' भन्दै आएका ब्ल्याक होलले सम्पूर्ण ऊर्जा आफूतिर खिच्छ भन्ने मानिँदै आएको छ। ब्ल्याक होलमा भएको अत्यधिक गुरूत्वाकर्षणका कारण यसले आफूमा सबै कुरा खिच्ने वैज्ञानिकहरूको भनाइ छ।
उनीहरूका अनुसार ब्ल्याक होल दुई प्रकारका हुन्छन्- साना र ठूला। साना थरीका सूर्यभन्दा ३ देखि १५ गुना ठूला तारा मरेर बन्छन् भने ठूला किसिमका ब्ल्याक होलको उत्पत्तिको रहस्य अझै सुल्झेको छैन। ठूला ब्ल्याक होल सूर्यको तौलभन्दा लाखौं गुणा ठूला हुन्छन्।
पृथ्वी रहेको आकाशगंगामा मात्र १० करोड ब्ल्याकहोल भएको वैज्ञानिकहरूको अनुमान छ। तर, हामी नजिकै कुनै पनि छैनन्।
ब्ल्याक होल यस्तो शक्ति हो जसले आफूमा आएको प्रकाश बाहिर जान दिँदैन। त्यसैले यो देख्न पनि सकिँदैन। उज्यालो ब्रह्माण्डबीच यो कालो देखिन्छ। ठूलो प्वाल जस्तो देखिने भएकोले यसलाई ब्ल्याक होल नाम दिइएको हो।
वैज्ञानिकहरूले फोटो खिचेको ब्ल्याक होलको आकार ४० अर्ब किलोमिटर छ। यो भनेको पृथ्वीभन्दा तीस लाख गुणा ठूलो हो।
ब्ल्याक होलको तस्बिर लिनु निकै चुनौतीपूर्ण काम हो। संसारका विभिन्न आठ ठाउँमा राखिएका टेलिस्कोपको सहायताले ब्ल्याक होलको पहिलो तस्बिर खिच्न सफल भएको हो। यो टेलिस्कोपको नाम द इभेन्ट होराइजन (इएचटी) हो। बुधबार वैज्ञानिकहरूले यो फोटो सार्वजनिक गरेका हुन्।
यो फोटोले वैज्ञानिकलाई ब्ल्याक होल अध्ययनमा धेरै सहयोग पुर्याउनेछ।
एम ८७ भनिने अन्तरिक्षमा रहेको ब्ल्याक होल समग्र सौर्यप्रणाली भन्दा ठूलो रहेको अनुसन्धानमा संलग्न प्राध्यापक हेनो फाल्केले जनाएका छन्।
तस्बिरमा ब्ल्याक होलको वरिपरि आगोको लप्का उठिरहेझैं देखिन्छ। बीचमा भने आँखाको नानी जस्तो कालो गोलाकार भाग छ।
'हामीले कहिल्यै देख्न नसक्ने भन्ने कुरा देखेका छौं,' हावार्डका शेपर्ड डोलेमनले भनेका छन्, 'हामीले देख्यौं र फोटो खिच्न सफल भयौं। यो तपाईंहरूका अगाडि छ।'
(अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका सहयोगमा)