दाङको तुलसीपुरमा चार वर्षीय एक बालकको नाकबाट पानीमा पाइने जुका निकालिएको छ। सल्यान जिल्लाका बालक रुपेश केसीको नाकबाट सोमबार पन्ध्र सेन्टिमिटरको जुका निकालिएको हो।
लगातार तीन हप्तादेखि दायाँ प्वालबाट रगत बगिरहेपछि अभिभावकले सोमबार बालकलाई तुलसी बाल हस्पिटलमा ल्याएका थिए। बालरोग विशेषज्ञ डा. किशोर खत्रीको टिमले चेकजाँच र अनुसन्धानपछि बच्चाको नाकमा पानीमा पाइने १५ सेन्टिमिटर लामो जुका निकालेको हो।
‘रक्तस्रावले गर्दा नियमित रगत बगेको हो कि भन्ने ठानेका थियौं, तर चेकजाँच गर्दा नाकमा जुका देखेपछि एक घन्टाको प्रयासपछि निकाल्न सफल भयौं,’ डा. किशोरले भने। जुका निकाल्न बालकलाई एक घन्टा बेहोस बनाउनु परेको डा. खत्रीले जानकारी दिए।
बालकले असुरक्षित रुपमा पानी पिउँदा उक्त जुका नाकमा प्रवेश गरेको डा. खत्रीले बताए। ‘असुरक्षित रुपमा खोला–नाला वा जरुवाबाट पानी पिउनुको परिणाम बच्चाको नाकमा जुका पुगेको हो,’ डा. खत्रीले भने, ‘यस्तो समस्याबाट जोगिन पानीको मुहानामा घोप्टो परेर मुखले पानी पिउन हुँदैन।’
सोमबार नै बालक उपचारपछि घर फर्किएका छन्। गत साल पनि रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ६ निवासी ५ वर्षीय बालक किरण डाँगीको नाकबाट यस्तै जुका निकालिएको थियो। डाँगीको नाकबाट लगातार तीन महिनादेखि रक्तस्राव हुँदै आएपछि अभिभावकले बच्चालाई उपचारका लागि तुलसी बाल हस्पिटलमा ल्याएका थिए।
‘बालक कमजोर भइसकेका थिए। हामीले उनलाई पनि एक घन्टा बेहोस बनाएर जुका निकालेका थियौं,’ डा. किशोरले भने।
जुकाले लामो समयदेखि रगत खाँदै गए हेमोग्लोविनको मात्रा कम हुने, जुकाले बच्चा जम्माएमा थप खतरा हुने तथा जुका मस्तिष्कसम्म पुग्ने खतरा रहने डा. खत्रीले बताए। दुर्गम गाउँमा यस्ता कुराको समयमै ख्याल नगर्दा जुकाकै कारण बच्चाको ज्यान समेत जान सक्ने खतरा डा. किशोरले औंल्याए।