बारा र पर्साका हावाहुरी पीडितलाई प्रदेश नंं ५ का सांसदहरूले एक दिन बराबरको तलब दिने भएका छन्।
प्रदेश सभाको आइतबारको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले सांसदहरूको एक दिनको तलब बराबरको रकम प्रदेश नम्बर २ का मुख्यमन्त्रीको राहत कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी गराए। सांसदहरूले उक्त निर्णयमा सहमति जनाएका छन्।
प्रदेश पाँचमा ८७ जना सांसद छन्। एक दिनको तलब १ हजार ५ सय रूपैयाँ बराबर हुन आउँछ। यसका साथै, प्रदेश पाँच सरकारले एक करोड रूपैयाँ पीडितलाई दिने निर्णय गरिसकेको छ।
त्यस्तै प्रदेश नंं ५ प्रदेश सभा बैठकले प्रदेश नं. ५ औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक पास गरेको छ। उक्त विधेयकलाई प्रदेश नंं ५ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लीला गिरीले सभामा निर्णायर्थ प्रस्तुत गरेका थिए। सो विधेयकलाई सभाबाट बहुमतले पारित गरिएको हो।
आइतबार नै बसेको बैठकमा प्रदेश नंं ५ खानी अन्वेषण र व्यवस्थासम्बन्धी बनेको विधेयक, प्रदेश नंं ५ प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन सभामा प्रस्तुत भएको थियो।
प्रदेश सभाको अर्को बैठक सोमबार दिउँसो १ बजे बस्नेछ।