गृह मन्त्रालयले हावाहुरी प्रभावित क्षेत्र बारा र पर्सामा तीन ट्रक राहत सामग्री पठाइसकेको बताएको छ।
गृह प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गए राति नै तीन ट्रक राहत सामग्री पठाएको जानकारी दिए।
‘सशस्त्र प्रहरीको तीन ट्रकमा त्रिपाल र कपडा पठाइएको छ। खाद्यान्न भने जिल्ला विपद समितिमा रहेको फन्टबाट व्यवस्थापन गर्ने भन्ने छ,’ सुवेदीले भने, ‘नेपाली सेना, नेपाल प्रहरीबाट पनि स्वास्थ्यकर्मीको टोली घटनास्थल गइसकेको छ।’
बारा र पर्साका सरकारी र निजी अस्पतालमा ३ सय ७५ जना घाइतेको उपचार भइरहेको र गम्भीर सात घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको उनले बताए। घाइतेको उद्धार र त्यहाँ भएको क्षतिबारे जानकारी लिन टिम परिचालन गरिएको उनको भनाइ छ।
अहिलेसम्म २७ जनाले ज्यान गुमाइसकेको उनले बताए। राहत वितरण सुरू भइसकेको र घाइतेको उद्धार पनि भइरहेको उनले बताए। प्रधानमन्त्री, गृहमन्त्री, प्रदेश नम्बर २ का मुख्यमन्त्रीलगायत केन्द्र र प्रदेशका मन्त्रीहरु हावाहुरीबाट पुगेको क्षति अवलोकन गर्न घटनास्थल पुगेका छन्।