नेपाली सेनाले यही चैत १ गते अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट) छनौटको अन्तिम नतिजा निकाल्यो। दुई सय अधिकृत क्याडेट मागिएकामा १ सय ५६ जनाले मात्र नाम निकाल्न सफल भए।
महिला, आदिवासी, जनजाति, मधेसी, दलित र खुलामा संख्या तोकेर विज्ञापन गरिएकामा महिलाले मात्र कोटाअनुसार नाम निकालेका थिए। १८ जनाको कोटाबाहेक अन्य समूहबाट थप ६ जना महिला थपिए।
यो तथ्यांकले के देखाउँछ भने, नेपाली सेनामा महिलाको आकर्षण बढेको मात्र छैन, उनीहरू यहाँ आउन क्षमतावानसमेत बन्दै छन्।
नेपाली सेनामा सिपाहीदेखि प्राविधिक सहायक रथी गरी ४ हजार ५ सय ११ महिला छन्। अधिकृत र माथिल्लो पदमा ४ सय ५८ जना महिला छन्।
सेनाले भर्नामा ४५ प्रतिशत आरक्षणलाई सय प्रतिशत मानेर त्यसको २० प्रतिशत महिला कोटा छुट्याउँदै आएको छ। अधिकृत भर्ना बेला गरिने शारीरिक परीक्षामा पनि महिलाहरूलाइ केही छुट दिइएको छ।
अधिकृत क्याडेटका लागि पुरुषले १५ पटक 'सिटअप' गर्नुपर्छ भने महिलाले ८ पटक गरे पुग्छ। पुरुषले १० पटक 'पुसअप' गर्नुपर्छ भने महिलालाई ५ पटक राखिएको छ।
त्यस्तै, पुरुषलाई ३ पटक 'चिनअप' राखिएकोमा महिलालाई यो व्यवस्था छैन।
पुरुषले ५५ सेकेन्डमा पूरा गर्नुपर्ने ३ सय मिटर दौडमा महिलाका लागि ६५ सकेन्डको प्रावधान छ। पुरुषले दुई माइल दौड १६ मिनेटमा पूरा गर्नुपर्छ भने महिलाले २१ मिनेटमा पूरा गरे पुग्छ।
अहिलेसम्म महिलाहरू सेनाको प्राविधिक सहायक रथीसम्म पुगेका छन्। दुई जना मात्र महिला सहायक रथी छन्। अब भने महिलाहरूका लागि प्रधानसेनापतिसम्मै पुग्ने बाटो खुला गरिएको छ।
नेपाली सेनाकी सेनानी (मेजर) सुलोचना पौडेल प्रधानसेनापतिका लागि हुने सबै प्रक्रियामा पुरुषसरह भाग लिन पाउँछिन्।
प्रधानसेनापति बन्न स्टाफ कलेज पास गर्नैपर्ने व्यवस्था सेनामा छ। यसअघिसम्म महिलाहरू स्टाफ कलेज परीक्षामै सहभागी थिएनन्। सुलोचना नेपाली सेनामा अतिमहत्वपूर्ण मानिने स्टाफ कलेज पास गरेकी पहिलो र एक्ली महिला हुन। अब अन्य अफिसर महिलाले पनि स्टाफ कलेजका लागि प्रतिस्पर्धा गर्न पाउँछन्।
'अहिले त महिलाप्रति धारणा बद्लिएको छ। घरभित्र मात्रै किन बस्ने, महिलाहरू पनि देश विकासमा सहभागी हुन सक्छन् भन्ने सोच बढेको छ,' सुलोचनाले भनिन्, 'सैनिक सेवा कठिन हो तर असम्भव छैन। सेनामा आउने इच्छाशक्ति छ भने मिहिनेत गर्नुपर्छ, सफल भइन्छ।'
उता, नेपाल प्रहरीतर्फ प्रहरी निरीक्षक (इन्सपेक्टर) मा नयाँ भर्नाका लागि यही चैत १२ देखि १८ गतेसम्म अन्तर्वार्ता हुँदैछ।
उक्त पदमा १ सय ८ जनाको माग भएकामा १ सय ३८ जना अन्तिम परीक्षामा सहभागी हुँदैछन्। महिलातर्फ भने ९ जना मागिएकामा ८ जना मात्रै अन्तर्वार्तासम्म पुगेका छन्।
यो तथ्यांकलाई आधार मान्ने हो भने नेपाली सेनामा भन्दा प्रहरीमा महिलाको आकर्षण कम देखिन्छ।
प्रहरीमा रहेका महिला अफिसरलाई आधार मान्ने हो भने प्रहरीमा महिलाको भविष्य उज्ज्वल छ। ६५ हजार हाराहारी रहेको प्रहरीमा लगभग ९ प्रतिशत महिला छन्।
नेपाल प्रहरीमा पनि महिला अफिसरहरूले महानिरीक्षकसम्म बन्ने सबै प्रक्रियामा भाग लिन पाउँछन्। अहिलेसम्म प्रहरीमा प्राविधिकतर्फ एआइजिपी महिला भएका छन्।
हेर्नुस् भिडियो
महिलाका लागि भर्ना छनौटमा पनि पुरुषको तुलनामा केही छुट छ।
जस्तो– इन्सपेक्टरको शारीरिक परीक्षाका लागि हुने ३.२ किलोमिटर दौड पुरुषले १४ देखि १८ मिनेटमा पूरा गर्नुपर्छ भने महिलाले १८ देखि २२ मिनेट पाउँछन्।
तीन सय मिटर दौड पुरुषले ४५ देखि ५६ सेकेन्डमा पूरा गर्नुपर्छ भने महिलाले ५५ देखि ६७ सेकेन्डसम्म पूरा गरे पुग्छ।
पुरुषले १२ देखि २० पटकसम्म 'सिटअप' गर्नुपर्छ भने महिलाले ५ देखि १५ पटकसम्म गर्नुपर्छ। पुरुषलाई १० देखि २० पटक गरे पुग्ने 'पुसअप' महिलाले ४ देखि १४ पटक मात्र गरे पुग्छ।
पुरुषले ५ देखि १२ पटकसम्म 'चिनअप' गर्नुपर्छ भने महिलाले १ देखि ३ पटक गरे पुग्छ वा १ मिनेटसम्म झुन्डिए पुग्छ।
यसबाहेक लिखित र मौखिक परीक्षा तथा सामान्य ज्ञानको परीक्षा भने सबैलाई समान हुन्छ।
२०६७ सालमा खुला तर्फबाट इन्सपेक्टरमा नाम निकल्न सफल शर्मिला गुरुङले लिखित परीक्षाका लागि कक्षाहरू सञ्चालन हुने जानकारी दिइन्। अन्य शारीरिक परीक्षाका लागि भने समयअनुसार फरक हुने उनले बताइन्।
'मैले ७ देखि ८ महिनासम्म तयारी गरेको हो। मैले लामो दौड, छोटो दौड, पुसअप, सिटअप सबै तयारी यही बेला गरेँ,' उनले भनिन्, 'मेरो त कोही आफ्नो मान्छे छैन, सोर्स पनि कसले लगाइदिने भन्ने मानसिकता पूर्ण रूपमा हटाएपछि नसकिने भन्ने छैन।'
उनका श्रीमान अनिल घिमिरे पनि नेपाल प्रहरीकै इन्सपेक्टर छन्। उनी सुडानमा छन्। दुवै जना प्रहरीमा भएको फाइदा घर र जागिर दुवैतिर भएको उनको अनुभव छ।
२०७० सालमा इन्सपेक्टर बनेकी एलिजा गिरी महानगरीय प्रहरी प्रभाग कोटेश्वरकी प्रमुख छिन्। दिनरात खटिनपुर्ने यो जागिरमा उनले विदा नलिएको छ महिना भयो। तै उनी यसैमा मजा मान्छिन्।
'महिलासँग सेवाग्राहीसमेत सहज ठान्छन्। उनीहरू महिलाको नरमपनाबाट आफ्ना कुरा प्रस्ट राख्न सक्छन्,' एलिजा भन्छिन्।
यो पनि पढ्नुस्/हेर्नुस्