गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरू भएको छ। ‘दक्षिण एसियामा शान्ति र मेलमिलापका लागि धर्म र संस्कृतिको भूमिका’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन सुरू भएको हो।
लुम्बिनी विकास कोष, नेपाल सरकार र विनचेस्टर विश्वविद्यालय बेलायतको संयुक्त आयोजनामा सुरू भएको सम्मेलनमा १५ वटा मुलुकका २४ जना विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्दैछन्।
लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति केन्द्रको रूपमा विकास गर्ने उद्देश्य राखेर आयोजना गरिएको कार्यक्रममा बेलायत, क्यानडा, बंगलादेश, नेदरल्याण्ड, इन्डोनेसिया, श्रीलंका, भारत र नेपालका विज्ञहरू सहभागी रहेका छन्।
सम्मेलनमा विभिन्न मुलुकहरूले द्वन्द्वको अन्त्यका लागि गरेका प्रयास, धार्मिक तथा साम्प्रदायिक युद्धहरूको समाधानका उपाय लगायतका विषयमा छलफल हुनेछ।
सम्मेलनमा ‘शान्ति स्थापनामा बुद्धिजमको महत्व’ विषयमा केन्ट विश्वविद्यालयका प्रोफसर ह्युग मियल, ‘श्रीलंकामा युद्धपछिको धार्मिक कट्टरता’का विषयमा बेलायतका चास मोरिसन, ‘नेपालको धर्मनिरपेक्षता र दीगो धार्मिक सहिष्णुता’का विषयमा डाक्टर योगी सिंहनाथ लगायतले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ।
त्यस्तै, सहभोजले शान्ति स्थापनामा खेलेको भूमिका, नेपालको शान्ति र पुनर्मिलन लगायतका विषयमा पनि कार्यपत्र प्रस्तुत हुनेछ।
बुधबार लुम्बिनी घोषणापत्र जारी गर्दै सम्मेलन समापन हुने लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुत्तले जानकारी दिए।
यसअघि सम्मेलनको उद्घाटन सत्रमा बोल्दै विज्ञहरूले बुद्धका उपदेशलाई आत्मसात गर्न सके संसारबाट सबैखालका द्वन्द्वहरूको अन्त्य गर्न सकिने विज्ञहरूले बताएका छन्।
त्यसका लागि संसारभरि बुद्धका उपदेशहरूको प्रचारप्रसार गर्न जरूरी रहेको उनीहरूको भनाइ थियो।
नेपाल लगायत दक्षिण एसियाका विभिन्न मुलुकमा लामो समय चलेका द्वन्द्वहरूको समाधान भएको स्मरण गर्दै उनीहरूले दीगो शान्ति स्थापनाका लागि वुद्ध शिक्षाको औपचारिक अध्ययन अध्यापन जरूरी रहेको बताए।
सम्मेलनको उद्घाटन सत्रमा केन्ट यूनिभर्सिटी बेलायतका प्रोफेसर डा. मार्क वइन, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति ह्रदयरत्न बज्राचार्य, कोषका उपाध्यक्ष भिक्षु मेत्तेयलगायतले सम्बोधन गरेका थिए।
सम्मेलनको उद्घाटन हिन्दु, बौद्ध धर्म र मुस्लिम धर्मका प्रतिनिधिहरूले संयुक्त रूपमा गरेका थिए।