सिंगापुर एयरलायन्सको एउटा जहाजलाई मंगलबार वायु सेनाको स्कर्टिङमा अवतरण गराइएको छ।
भारतको मुम्बईबाट सिंगापुरका लागि उडेको सिंगापुर एयरलायन्सको उडान नम्बर एसक्यू ४२३ नम्बरको बोइङ ७७७-३०० इआर जहाज मंगलबार बिहान सिंगापुरको वायु सेनाको स्कर्टिङमा चांगी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
सिंगापुरको समाचार पत्र द स्ट्रेट्स टाइम्सले मुम्बईको छत्रपति शिवाजी विमानस्थलबाट स्थानीय समयअनुसार राति साढे ११ बजे उडेको उक्त जहाजमा बम राखिएको भन्दै एयरलायन्सको कार्यालयमा फोन आएको थियो।
सिंगापुर प्रहरीलाई बिहान पौने ६ बजे जहाजमा बम भएको खबर गरिएको थियो।
पाइलटले पनि राडारलाई आपतकालको संकेत गरेपछि अरू जहाजलाई डाइभर्ट गरे वायु सेनाले स्कर्टिङ गरेको थियो। जहाज निर्धारित समयभन्दा आधा घन्टा ढिला गरेर स्थानीय समयअनुसार बिहान ८ बजे छांगी विमानस्थलमा अवतरण गरेको थियो।
अवतरणपछि खानतलासी गर्दा जहाजमा बम नभेटिएको सुरक्षा अधिकारीहरूले जनाएका छन्। जहाजमा २६३ यात्रु थिए। मुम्बईदेखि गएका एक महिला र बालकलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ।