निर्मला बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा लापरबाही गरेको, प्रमाण नष्ट गरेको र हत्यारा भएको आशंकामा पक्राउ परेका दीलिप सिंह विष्टलाई हिरासतमा यातना दिएको मुद्दा खेपिरहेका सिआइबीका तत्कालीन डिएसपी अंगुर जिसी अदालतमा हाजिर भएका छन्।
कञ्चनपर जिल्ला अदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीका अनुसार उनी सोमबार बिहान साढे १० बजे हाजिर हुने निवेदनसहित अदालतमा आइपुगेका थिए। अब जिल्ला अदालतले उनको थुनछेक बयान लिने छ।
तत्कालीन डिएसपी जिसीलाई झै प्रमाण नष्ट र यातना दिएको अभियोग लागेका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टलाई हिजोमात्रै अदालतले साढे १० लाख धरौटीमा छोडेको छ।
निर्मला बलात्कारपछि हत्याकाण्डको छानबिनका लागि जिसीसहितको टोलीलाई सिआइबीले कञ्चनपुर पठाएको थियो।
अनुसन्धानमा खटिएका उनीसहित ८ प्रहरी अधिकारीविरूद्ध प्रहरीले प्रमाणनष्ट र यातना दिएको अभियोग लगाउँदै जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। अदालतले अरू ६ जनालाई धरौटीमा छोडेको थियो।
साउन १० गते साथीको घरमा पढ्न भन्दै गएकी निर्मला ११ गते मृत अवस्थामा फेला परेकी थिइन्। उनीमाथि बलात्कार भएको पोष्टमार्टम रिपोर्टले देखाएको थियो।
निर्मला बलात्कार पछि हत्याकाण्डको प्रारम्भिक छानबिनदेखि नै प्रहरीले लापरबाही गरेको भन्दै कञ्चनपुरमा आन्दोलन समेत भयो। आन्दोलनका क्रममा एक जनाको ज्यान गएको थियो। उक्त घटनाको छानबिन गर्न भन्दै सरकारले र प्रहरीले छानबिन समितिहरू बनाएपछि अहिलेसम्म अपराधी पत्ता लागेको छैन। ती छानबिन समितिले लापरबाही गरेको र प्रमाण नष्ट गरेको प्रतिवेदन दिएपछि विष्टसहित ८ प्रहरीमाथि मुद्दा चलाइएको हो।
प्रहरीले निर्मलालाई बलात्कार गरी हत्या गरेको आशंकामा स्थानीय दीलिप सिंह विष्टलाई पक्राउ गरेको थियो। विष्टले पनि आफूले निर्मलालाई हत्या गरेको स्वीकार गरेका थिए। तर पछि निर्मलाको भजाइनल स्वावसँग विष्टको डिएनए नमिलेपछि उनलाई छोडिएको थियो।
दिलिप सिंहका दाजुले प्रहरीले आफ्नो भाइलाई यातना दिएको भन्दै जाहेरी दिएका थिए। उक्त जाहेरी माथि अनुसन्धान गरी प्रहरीले अदालतमा मुद्दा दायर गरेको हो।