खाली जमिनको अभावका कारण ललितपुर महानगरले 'मोबाइल शौचालय' प्रयोगमा ल्याउने भएको छ। जम्मा चार वटा मात्र सार्वजनिक शौचालय भएको महानगरले अब एक ठाउँबाट अर्को ठाउँ सार्न मिल्ने 'मोबाइल शौचालय' प्रयोगमा ल्याउने भएको हो।
मोबाइल शौचालय राख्न अध्ययनका लागि महानगरले एक टोली भारतको चेन्नई पठाउन लागेको प्रमुख चिरिबाबु महर्जनले बताए।
‘सार्वजनिक शौचालयको धेरै आवश्यकता छ। महानगरमा करिव ४० वटा शौचालय आवश्यक पर्छ,’ उनले भने, ‘महानगरमा खाली ठाउँ अभावका कारण हामी नयाँ बनाउन सक्ने अवस्थामा छैनौं। त्यसैले मोबाइल ट्वाइलेट ल्याउने भएका हौं।’
अहिले महानगरभित्र लगनखेल बसपार्क, मंगलबजार, मंगलबजारको तरकारी बजार, युएन पार्क, पाटनढोका, कुपण्डोल, जाउलाखेलमा सार्वजनिक शौचालय छन्। सातमध्ये दुइटा बिग्रिएकाले प्रयोगमा नै छैनन्। प्रयोगमा आएका शौचालय पनि व्यवस्थित छैनन्। तिनलाई पनि महानगरपालिकाले व्यवस्थित गर्दै मोबाइल ट्वाइलेट ल्याउने भएको हो।
‘हामीसँग भएकै ट्वाइलेट पनि व्यवस्थित छैनन्। त्यसलाई पनि व्यवस्थित गर्छौं। र मोबाइल ट्वाइलेटको सम्भाव्यता अध्ययन गछौं। एक टोलीलाई चेन्नई पनि पठाउँदैछौं,’ उनले भने, ‘जात्रा पर्व पनि हाम्रो महानगरमा धेरै नै हुन्छ। त्यस्तो बेलाको लागि समेत हुने गरी प्रशस्त मात्रामा मोबाइल ट्वाइलेट ल्याउछौं।’
महानगरले शौचालय निर्माण कै लागि यसका लागि महानगरले वडा ३ का अध्यक्ष श्री गोपाल महर्जनको संयोजकत्वमा सार्वजनिक निजी साझेदारको समूह बनाएको छ। यस्तै १२ वडाका अध्यक्ष नारायण अवालेको संयोजकत्वमा कुन कुन ठाउँमा शौचालय राख्ने अध्ययन भइरहेको महानगरले जनाएको छ।
खरिद प्रकृयाअनुसार ल्याउन केही ढिला हुने भएपनि सकेसम्म चाँडो मोबाइल शौचालय ल्याउने प्रमुख महर्जन बताउँछन्।
‘हामीले त मोबाइल ट्वाइलेट यही महिनाभित्र ल्याउन खोजेको हो। तर हाम्रो खरिद प्रकृया एकदमै झन्झटिलो छ। तैपनि हामी छिटो ल्याउने प्रयास गछौं,’ प्रमुख महर्जनले भने।