सर्वोच्च अदालतले न्यायपालिकामा दिवा शिशु स्याहार केन्द्रको स्थापना गरेको छ।
न्यायपालिकामा कार्यरत कर्मचारीहरूका बालबालिका स्याहार्न सर्वोच्च परिसरमै दिवा शिशु स्याहार केन्द्रको स्थापना गरेको सर्वोच्चले जनाएको छ।
आइतबार सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले शिशु स्याहर केन्द्रको उद्घाटन गरे।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिला कर्मचारीहरूको सुत्केरी बिदा सकिएपछि बच्चालाई कसरी हुर्काउने भन्ने समस्या बढ्ने र बच्चा घरमै छोडेर आउँदा अफिसको काममा असर हुने भएकाले दिवा शिशु स्याहार केन्द्रको स्थापना गरिएको बताए।
'बच्चाले पाउने ब्रेष्ट फिडिङ र आमाले गर्ने नियमित काममा समेत सहजता हुने भएकाले केन्द्रको स्थापना गरिएको हो,' उनले भने।
शिशु स्याहार केन्द्रमा बालबालिकालाई आवश्यक पर्ने पौष्टिक आहार, शिशुहरूको स्याहारका लागि सुरूमा २ जना कर्मचारी व्यवस्था गरिएको छ।
स्याहार केन्द्रमा ६ महिनादेखि ३ वर्षसम्मका बालबालिकालाई राखिने भएको छ।
स्याहार केन्द्रमा रहने बालबालिकाको भर्ना आजैबाट सुरू भइसकेको सर्वोच्चले जनाएको छ।