सरकारले उपत्यकाबाट बाहिरिने प्रमुख नाका नागढुंगा सुरूङको प्रवेश मार्ग निर्माणको शिलान्यास आगामी वर्षको जेठभित्र गर्ने तयारी गरेको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले शनिबार काठमाडौंको दहचोकदेखि नौबिसे नजिकको सिस्नेखोलासम्म बन्ने सुरूङको तयारीका बारेमा स्थलगत निरीक्षण गर्दै आगामी वर्षको जेठभित्र शिलान्यास गर्ने बताएका हुन्।
‘हामी शिलान्यासको काम आगामी वैशाख नभए जेठभित्रै सक्ने छौं, त्यसको लागि स्थानीय तहसँग पनि समन्वयन गर्नेछौं’,निरीक्षण क्रममा उनले भने।
सुरूङ निर्माणका लागि जग्गा अधिग्रहणको कार्य समयमै सक्न उनले स्थानीय तहलाई निर्देशन दिए।
करिब १७ अर्ब रुपैयाँ लागत अनुमान गरिएको सो परियोजना वि.सं. २०७९ पुस मसान्तसम्म सम्पन्न हुने लक्ष्य राखिएको छ।
त्यस्तै, उनले कलंकी नागढुंगा सडकको पनि स्थलगत निरीक्षण गर्दै पहिलेको तुलनामा उक्त खण्ड निकै सुधार भएको दाबी गरे।
‘अबको केही महिनाभित्र धुलोरहित सडकमा सरर… हिँड्ने दिन अब टाढा छैन’, मन्त्री महासेठले भने।
त्यस्तै, उनले प्रधानमन्त्री केपी ओलीको चासोमा निर्माण भइरहेको कलंकी खड्कागाउँ, कंकाली गुम्बा हुँदै इन्द्रदह काजी कालुपाण्डे सडकको पनि निरीक्षण गरे।
उक्त सडक निर्माणका लागि सरकारले १८ करोड २९ लाख विनियोजन गरको छ भने आगामी वर्षको मंसिरसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ। स्थलगत निरीक्षणमा मन्त्री महासेठसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारी, चन्द्रागिरि नपाका प्रवक्ता हरिभक्त महर्जन , २ नं वडाध्यक्ष गोपी सुर्खेती ,५ नं वडाध्यक्ष श्री कान्छाभाई महर्जन ,१३ नं वडाध्यक्ष श्री वालमुकुन्द बिडारी ,वडा सदस्य ,ईन्द्रदह एकिकृत पर्यटन विकास समितिका अध्यक्ष हरिशरण थापा १२ नं वडाध्यक्ष प्रकाश श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।