सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना उपकुलपति भएपछि कसले काम गर्ने भन्ने विवाद देखिएको छ।
बर्खास्तीमा परेका उपकुलपति राजकुमार रौनियार र उनको ठाउँमा नयाँ नियुक्त गरिएका गुरुप्रसाद खनाल कसले प्रतिष्ठानको उपकुलपति रहेर कामलाई निरन्तरता दिने भन्नेमा विवाद देखिएको हो।
कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चालक परिषदको सिफारिसको आधारमा फागुन २६ गते रौनियारलाई बर्खास्त गरेका थिए। त्यसविरूद्ध रौनियार अदालत पुगे। सर्वोच्चले चैत १२ गतेसम्म बर्खास्ती गर्ने निर्णय कार्यान्वयन नगर्न भनेपछि रौनियार पुन: काममा फर्किएका छन्।
प्रतिष्ठानमा एक जनामात्रै उपकुलपति रहने व्यवस्था भए पनि अहिले दुई जना छन्। नयाँ उपकुलपति खनालले पनि कार्यभार सम्हालेर काम सुरू गरिसकेका छन्।
अदालतको आदेशसँगै आफ्नो पुन:बहाली भएको दाबी गर्दै रौनियार पनि प्रतिष्ठान पुगेपछि विवाद देखिएको छ।
रौनियारले दुई वर्षदेखि प्रतिष्ठानमा उपकुलपतिको जिम्मेवारी सम्हालेका थिए। आफ्नो पदअनुसारको दायित्व पूरा नगरेको र विभिन्न खरिद तथा ठेक्कामा कमिसन खाएको आरोप लागेपछि उपकुलपति रौनियारलाई बर्खास्त गरिएको थियो।