पुरातत्व विभागले भूकम्पले भत्काएका सम्पदाहरूको पुनर्निर्माण कार्य तोकिएकै समयमा सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ।
पुरातत्व विभागमा निमित्त महानिर्देशक दामोदर गौतमले तोकिएकै समयभित्र भूकम्पले भत्काएका सम्पदाहरूको पुनर्निर्माणको काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन्।
मंगलबार संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले काठमाडौं उपत्यकाभित्रका सम्पदाहरूको पुनर्निर्माणको काम २८ प्रतिशत सम्पन्न भएको र आगामी २ वर्षभित्र ती सबै सम्पदाहरूको पुनर्निर्माण कार्य सम्पन्न गर्ने योजना पनि अघि सारे।
काठमाडौं उपत्यकाभित्र ७ सय ५३ वटा सम्पदाहरू भूकम्पले भत्काएका थिए। तीमध्ये २ सय २० वटा सम्पदाहरूको पुनर्निर्माणको काम सम्पन्न गरिएको पनि विभागले जनाएको छ।
चालू आर्थिक वर्षभित्र थप २ सय ५ वटा सम्पदाहरूको पुनर्निर्माणको काम सम्पन्न गर्ने र बाँकी सम्पदाहरूको पुनर्निर्माणको काम आगामी २ वर्षभित्र सम्पन्न गर्ने योजना रहेको पनि विभागका निमित्त महानिर्देशक गौतमले बताए।
निमित्त महानिर्देशक गौतमले सम्पदाहरूको पुनर्निर्माण गर्दा त्यसको ऐतिहासिक, पुरातात्विक तथा मौलिक पहिचान मेटाउन नदिने प्रतिवद्धता पनि व्यक्त गरे। बैठकमा समितिका सदस्यहरूले सम्पदाहरूको पहिचान मेटाउन खालको कुनै पनि गतिविधि हुन नदिन सरकारलाई सचेत गराएका थिए।