भूकम्पले घर भत्किएर पनि लाभग्राहीको सूचीमा नपरेका भूकम्प प्रभावित पहिचान गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित सबै स्थानीय तहमा फेरि प्राविधिक पठाउने तयारी गरेको छ।
भूकम्प प्रभावित जिल्लाका बासिन्दालाई अनुदान रकम पाउने लाभग्राहीको सूचीमा सूचीकृत हुन अन्तिम मौका दिने गरी प्राधिकरणले चैत १५ देखि प्राविधिकलाई गाउँ पठाउन लागेको हो।
२०७२ वैशाख १२ मा गोरखा बारपाक केन्द्र रहेर गएको भूकम्पले घर क्षति पुगे पनि लाभग्राही सूचीमा नपरेर भूकम्प प्रभावितले सरकारी अनुदान पाएका थिएनन्।
यसअघि पनि प्राधिकरणले तथ्यांक संकलनका क्रममा छुटेका भूकम्प प्रभावितलाई गुनासो दर्ता गराउन आग्रह गरेको थियो। गुनासो दर्ताका क्रममा पनि छुटेका भूकम्प प्रभावित, सर्वेक्षणबाट थप यकिन गर्नुपर्ने भनि तोकिएका गुनासोकर्ता, लगत संकलन नै नभएका गुनासोकर्ता र स्थानीय तहमा तोकिएको समयभित्र दर्ता गरेका नयाँ गुनासोकर्तालाई प्राधिकरणले अन्तिम पटक छुट तथा गुनासो पुन: जाँच गर्न प्राविधिकहरू खटाउन लागेको हो।
खटिएका प्राविधिकलाई आफ्नो लगत संकलन गराउन प्राधिकरणले सूचना निकालेर जानकारी गराएको छ।
साथै प्राधिकरणले स्थानीय तहका जनप्रतिनिधिलाई वास्तविक भूकम्प प्रभावितको लगत संकलन गर्ने कार्यमा सहयोग गरिदिन आग्रह गरेको छ।
भूकम्प गएको तीन वर्ष भइसक्दा पनि निजी आवास पुनर्निर्माण कार्य सकिएको छैन। सरकारले प्रति घर निर्माणलाई ३ लाख रुपैयाँ अनुदान दिने गरेको छ।