रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ९ मंगलापुरमा जेष्ठ नागरिक मिलन केन्द्र निर्माण हुने भएको छ।
केन्द्रको सोमबार तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरे र उपप्रमुख जागेश्वरी चौधरीले शिलान्यास गरेका हुन्।
बेलहिया बुटवल सिक्सलेन सडकसँग जोडिएको झण्डै १४ कठ्ठा क्षेत्रफलमा जेष्ठ नागरिक मिलन केन्द्रसँगै आकर्षक बाल उद्यान समेत निर्माण गरिने वडा अध्यक्ष नारायण न्यौपानेले जानकारी दिए।
केन्द्रसँगै अपांगतामैत्री अत्याधुनिक सार्वजनिक शौचालयको पनि सोमबार शिलान्यास गरिएको छ।
झण्डै एक करोडको लागतमा जेष्ठ नागरिक मिलन केन्द्रको भवन लगायतका पूर्वाधार निर्माण हुने वडा अध्यक्ष न्यौपानेले बताए।
एक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको केन्द्रमा जेष्ठ नागरिकमैत्री खेलकुद, पुस्तकालय, संगीतालय, पार्क लगायतका संरचना निर्माण गरिनेछ।
निर्माण हुन थालेको केन्द्र नजिकै ऐतिहासिक रामजानकी मन्दिर पनि रहेको छ।
तीव्र सहरीकरणसँगै युवापुस्ता कामकाजी भैरहँदा जेष्ठ नागरिकलाई आनन्ददायी तरिकाले समय बिताउन सहयोग पुर्याउने उद्देश्यले जेष्ठ नागरिक मिलन केन्द्रको अवधारणा ल्याइएको नगरपालिकाले जनाएको छ।
केन्द्रको शिलान्यास गर्दै नगरप्रमुख घिमिरेले जेष्ठ नागरिक मिलन केन्द्रलाई नमूना बनाइने बताए।
जेष्ठ नागरिकका अनुभव, ज्ञान र सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न पनि मिलन केन्द्र उपयोगी हुने उनको भनाइ छ।
जेष्ठ नागरिकलाई आनन्दमय तरिकाले चिन्तन/मनन गर्न सक्ने गरी केन्द्रमा संरचनाहरू निर्माण गरिने उनले बताए।
मंगलापुरमा तिलोत्तमा नगरभित्रको दोस्रो जेष्ठ नागरिक मिलन केन्द्र निर्माण हुन थालेको हो।
वडा नं. ४ डिङ्गरनगरमा पनि जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा रहेको छ।
नेपालमा ज्येष्ठ नागरिकहरूका लागि विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक संविधानले प्रत्याभूत गरेको छ।