गत फागुन २१ गते राति काठमाडौं-४ धुम्बाराही पीपलबोट नजिकको घरमा सञ्चालित रिजन इन्टरप्राइजेज हार्डवेयर पसलमा चोरी भयो।
कर्णप्रसाद चौलागाईंको उक्त पसलमा सटरको ताला फोडी ज्याकवेयर र विभिन्न कम्पनीका धारालगायत सामानहरू चोरी भएका थिए।
चोरीको सो घटनापछि महानगरीय प्रहरी बृत्त महाराजगञ्जको टोलीले अनुसन्धान थालेको थियो। यसक्रममा फागुन २७ गते काठमाडौं-३१ पुरानो बानेश्वरमा डेरा गरी बस्ने पारस प्रसादको कोठाबाट ७० हजार रुपैयाँ नगद, हार्डवेयर, चाँदीका गरगहना बरामद गरेको थियो।
बृत्तबाट खटिएको प्रहरीले त्यसक्रममा भारत देश मोतिहारी घर भई हाल काठमाडौं-३१ पुरानो बानेश्वर बस्ने वर्ष ४० का पारस प्रसादसहित तीन जनालाई पक्राउ गरेको थियो। अन्य पक्राउ पर्नेमा भारत समस्तिपुर घर भई काठमाडौं-९ तिलगंगा बस्ने ३२ वर्षीय सन्तोष पोद्दार र रामेछाप सुनपती गाउँपालिका ५ घर भई काठमाडौं-३२ बस्ने २१ वर्षीय ओमराज श्रेष्ठ थिए।
प्रहरीका अनुसार यो समूहमा अन्य चार जना पनि छन्, उनीहरू फरार छन्। यो समूहमाथिको प्रारम्भिक अनुसन्धानमा ७० लाख बराबरको सामान फेला परेको प्रहरीले जानकारी दिएको छ।
महाराजगञ्ज बृत्तका प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंका अनुसार यो समूहको चोरी आतंक निकै लामो छ।
प्रसाईंका अनुसार रिजन इन्टरप्राइजेज हार्डवेयरबाट मात्रै चोरी भएको ५९ लाख ६ हजार बराबरको सामान फेला परेको छ। काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानबाट चोरी भई बरामद भएका ३८ बोरा धारा तथा बाथरुम फिटिङ्सका सामानहरू बरामद भएका छन्।
बानेश्वरस्थित सन्तोष पोद्धारको गोदाम तथा कोठाबाट टि एल्वो पाइप सकेट भएको १४ बोरा, टि एल्वो पाइप छ बोरा, भल्व सकेट टि एल्वो दुई बोरा, बिजुलीको वायरिङ तार छ बोरा, पावर सकेट एक बोरा, स्टिलको धाराको टुटी दुई बोरा र बट्टामा भएको ग्लु (गम) सानो एक बोरा बरामद भएको छ।
यही समूहले फागुन १३ गते ललितपुर इमाडोलस्थित ए एण्ड बी ज्वेलर्स पसलमा चोरी गरेको थियो। सो पसलमा चोरी भएको ८ लाख १३ हजार ६३३ बराबरको ९ किलो ५०० ग्राम चाँदीका सामान थिए।
प्रसाईंका अनुसार पारस प्रसादको कोठाबाट बल भल्व ३६ प्याकेट, हरियोमा पहेंलो धातु भएको सकेट ३९ प्याकेट, बल भल्व सेतो र नीलो रङ्गको सानो र ठूलो ४१५ वटा, छोटो पाइप २४५ थान, विभिन्न कम्पनीको टि एल र सकेट अढाइ बोरा, बत्ती सात थान बरामद भएका थिए।
प्रसादकै कोठाको किचन र प्यासेजबाट धारा २ थान, पाइप भएको पिलर कक २ थान, बिग कक थाराको टुटी ३ थान, बिग कक धाराको टुटी चार प्याकेट, धारा दुई प्याकेट, ह्याण्डस सावर १ प्याकेटलगायत २२ प्रकारका हार्डवेयर सामान बराद भएका थिए।
यो समूहले दसैंअघिबाटै चोरी सुरू गरेको प्रहरीको भनाइ छ। भक्तपुर कमल विनायकस्थित हार्डवेयर पसल, कात्तिकमा कपमको एकता बस्तीमा रहेको हार्डवेयर, कात्तिक अन्तिम साता टोखा-९ धापासीस्थित ग्रान्डी अस्पतालछेउको मोबाइल पसल, मंसिरमा ललितपुर हरिसिद्धीको कार्डवेयर, विशालनगरमा रहेको फेन्सी पसल चोरी गरिसकेको पत्ता लागेको छ।
प्रहरीले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरी सो समूहबारे जानकारी दिएको थियो। प्रहरीले चोरीमा संलग्न बा१ज ११९२ नम्बरको ट्याक्सी, बा१४च ७२६९ नम्बरको मारुती भ्यान र बा८०प १५४० नम्बरको पल्सर मोटरसाइकल बरामद भएको जनाएको छ।
यो समूहले दिनको समयमा राजधानीका विभिन्न हार्डवेयर,ज्वेलर्स, फेन्सी पसलमा गएर सोधीखोजी गर्थे। रातको समयमा चोरी गर्न सकिने पसलहरूको ताला तथा सटर फुटाएर धनमाल चोर्थे। चोरी गरेको धनमाल बा१ज ११९२ नम्बर को ट्याक्सी बोलाएर पारस प्रसाद र सन्तोष पोद्धारको गोदामसम्म पुर्याउँथे। ती गोदामबाट बा१४च ७२६९ नम्बरको मारुती भ्यानमा चोरीका सामान राखी निर्माणाधीन घरहरूमा लगेर बिक्री गर्थे।
बृत्तका अनुसार पारस नेपाल आएको दस वर्ष भएको छ। काठमाडौं आएपछि उनी हार्डवेयर पसलबाट सामान किनेर अन्यत्र (पसल, घर निर्माण भइरहेका क्षेत्र लगायत) ठाउँमा बेच्ने गर्थे।
काठमाडौं आएको केही समयपछि उनले आफूले चिनेका सन्तोष पोद्धारलाई काठमाडौं बोलाए। उनलाई कवाडीको सामान ओसारपसारको काम दिए।
यहीबीचमा पारसले चोरीको ‘आइडिया’ पत्ता लगाएर सन्तोषलाई पनि सोही काममा संलग्न गराउन थालेको बृत्त बताउँछ। चोरीका सामान कोठासम्म लैजान ट्याक्सी चालकलाई प्रयोग गरे। पक्राउ परेका ओमराज श्रेष्ठ बा१ज ११९२ नम्बरको ट्याक्सी चलाउँथे।
‘चोरीका सामान ओसार्ने मामलामा पारस र सन्तोषले ओमराजलाई एकदमै बढी भाडा दिएर चोरीमा संलग्न गराइराखेको पत्ता लागेको छ,’ महाराजगञ्ज बृत्तका डिएसपी प्रसाईंले भने।
प्रसाईंका अनुसार चोरीमा संलग्न भएको मारुती भ्यान कहाँबाट कसरी प्राप्त भयो खुलिसकेको छैन। श्रेष्ठले चलाउने गरेको ट्याक्सी र भ्यान दुबैको कागजात यातायात कार्यालयमा मागिएको छ। मोटरसाइकल पोद्धारले चलाउँथे। यसको पनि कागजात मगाइएको छ।
‘पक्राउ गर्दा सवारीसाधनको आधिकारिक कागजात फेला परेन, यातायात कार्यालयमा कागजात मगाएका छौं,’ प्रसाईंले भने, ‘यो समूहको नदेखिएको चोरीको कथा अझ बृहत् छ, सबै आइसकेको छैन।’