यो आर्थिक वर्षमा देशभरबाट ७ हजार ७ सय छात्रछात्राले राष्ट्रिय सेवा दलको तालिम लिए। यसअघि ०७४/०७५ मा ६ हजारले यो तालिम लिएका थिए।
२०२२ साल देखि २०७० सालसम्म वार्षिक रूपमा छ ५ सय छात्रछात्राले यो तालिम लिने गरेका थिए। अहिलेसम्म ४१ हजार २ सय ११ जनाले यो तालिम लिइसकेका छन्। पूर्वप्रधानमन्त्री एवम् नेकपाका एक अध्यक्ष पुष्पकमल दाहालले २०२८ सालमा यो तालिम लिएका थिए।
यो तालिम लिन विद्यार्थीको उमेर १४ देखि २४ वर्षको हुनुपर्छ। सबैभन्दा पहिला तालिमका लागि विद्यार्थी तयार हुनुपर्छ, त्यसपछि अभिभावकको स्वीकृति चाहिन्छ ।
सय दिनको यो तालिममा पिटी परेड गराइन्छ भने कतिपय व्यावहारिक ज्ञान पनि सिकाइने राष्ट्रिय सेवा दलका प्रमुख उपरथि रमिन्द्र क्षेत्रीले सेतोपाटीलाई बताए ।
‘यो तालिमको मुख्य उद्धेश्य कुशल यूवा दस्ता बनाउने हो। सिपाही बनाउने होइन्,’क्षेत्रीले भने,‘यूवाहरूको क्षेमता अभिवृद्धि गरेर अनुशासित दस्ता बनाउने हो।’
जुनयिर डिभिजन र सिनियर डिभिजन गरी दुई प्रकारका तालिम रहेका हुन्छ। जुनियर डिभिजनमा ८ देखि १० कक्षाका विद्यार्थी हुन्छन् भने सिनियर डिभिजनमा ११ र १२ कक्षाका विद्यार्थी हुन्छन्। दुबै प्रकारको तालिम कार्यक्रमलाई संस्थागत तह र वार्षिक क्याम्प तहमा विभाजित गरिएको हुन्छ। दुबै तालिम कार्यक्रममा ७९ दिनको संस्थागत तहको तालिम र २१ दिनको वार्षिक क्याम्प सञ्चालन गरिन्छ।
तालिममा मास पि.टी,ड्रिल,विपदको अवस्थामा स्वयंसेवकको भूमिका तथा कर्तव्यलगायत सिकाइन्छ। सिनियर डिभिजनका लागि हतियार तालिम तथा फायरिङ, घोडचढी, रक क्लाइम्बिङलगायत पनि सिकाइन्छ ।
तालिमका लागि आधा छात्र र आधा छात्रा छनोट गरिन्छ । यो तालिमप्रति विद्यार्थीको निकै चासो रहेको क्षेत्रीले दाबी गरे। यस वर्ष मात्रै तालिमका लागि २४ हजार भन्दा बढीको माग आएको थियो।
राष्ट्रिय सेवा दलले विभिन्न सात राष्ट्रसँग यूवा आदनप्रदान कार्यक्रम समेत गरिरहेको छ।