फागुन सकिन लागिसक्यो तर नेपालबाट चिसो हट्न छाँटकाँट देखिएको छैन।
गत बिहीबार काठमाडौं आसपासका डाँडाकाँडा हिउँले छोपिए, भक्तपुरका दुवाकोट, चाँगुनारायणमा घरको आँगनमै हिउँ जम्यो।
शुक्रबार उपत्यकाको तापक्रम २ डिग्रीमा झर्यो।
शनिबारदेखि फेरि पश्चिमी वायु सक्रिय भएको छ। आइतबार बिहान त पानी नै पर्यो।
यो क्रम अझै केही दिन चल्ने जल तथा मौसम पूर्वानुमान महशाखाले जनाएको छ।
काठमाडौंमा यो वर्षको पहिलो हिउँदे वर्षा पुस २३ गते भएको थियो। त्यसपछि हप्तैपिच्छे निरन्तर पश्चिमी वायु आइरहेको छ। पश्चिमी वायुको प्रभाव यति छ कि फेब्रुअरी (माघ मध्यदेखि फागुन मध्यसम्म) मा काठमाडौंमा औसतभन्दा झन्डै ५०० प्रतिशत धेरै पानी परेको छ।
जल तथा मौसम विभागको आँकडाअनुसार यो फेब्रुअरीमात्र उपत्यकामा ८५ मिलिमिटर पानी परेको छ। जबकी काठमाडौंमा फेब्रुअरीमा अरू वर्ष औसतमा १८ मिलिमिटर पानी पर्थ्यो।
विभागले सन् १९८० देखि २०१० सम्मको विवरण विश्लेषण गरेर यो औसत निकालेको हो। पोहोर साल यही अवधिमा काठमाडौं उपत्यकामा जम्मा १.५ मिलिमिटर पानी परेको थियो।
यो वर्ष काठमाडौंको अधिकतम् तापक्रमको औसत पनि पहिलाभन्दा घटेको छ।
तीस वर्ष (१९८१-२०१०)को विवरण अनुसार काठमाडौंमा फेब्रुअरीको औसत अधिकतम तापक्रम २१.४ डिग्री छ।
यसपालि भने काठमाडौंको फेब्रुअरीको औसत अधिकतम तापक्रम २०.४ डिग्री मात्र छ। यो औसत तापक्रम पछिल्ला पाँच वर्षमै सबैभन्दा कम हो।
सन् २०१४ को फेब्रुअरीमा काठमाडौंको अधिकतम तापक्रमको औसत २०.८ डिग्री थियो। पोहोर साल यो तापक्रम २३ डिग्री पुगेको थियो।
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले लगालग आइरहेको पश्चिमी वायुको प्रभावले तापक्रम बढ्न नदिएको बताए।
तर यसपालि किन यति धेरै पश्चिमी वायु आइरहेको छ भन्नेबारे महाशाखाले कुनै अध्ययन गरेको छैन्।
नेपालजस्तै पश्चिमी वायुको प्रभाव रहने उत्तरी भारतमा पनि चिसो र वर्षा बढेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
उत्तरी भारतको तापक्रम पाँच वर्षमै सबैभन्दा तल्लो बिन्दुमा आइपुगेको द स्क्रोलले लेखेको छ।
उक्त समाचार अनुसार उत्तरी भारतमा डिसेम्बर महिना ५० वर्षयताकै चिसो छ भने जनवरीमा पछिल्ला ६ वर्षमा सबैभन्दा बढी चिसो महशुस गरिएको छ।
उत्तरी भारतको चिसो र वर्षाका पछि पोलार भोर्टेक्सको भूमिका रहेको स्क्रोलको समाचारमा उल्लेख छ।
के हो पोलार भोर्टेक्स?
पोलार भोर्टेक्स (ध्रुवीय सिरेटो) भनेको पृथ्वीका दुई ध्रुवहरूको छेउमा रहेको न्यून चापीय वायूको गोलो घेरा हो। यो हिउँदमा उत्पन्न हुन्छ। यसले ध्रुवका सबैभन्दा चिसो वायु समात्छ। ध्रुवहरूमा यस्ता वायुका घेरा एकमाथि अर्को गर्दै खप्टिएर रहेका हुन्छन्।
खप्टिएका घेराहरूले पर्खालको काम गर्ने भएकाले यो वायु निरन्तर गोलो आकारमा ध्रुव छेउछाउ घुमिरहन्छ।
हिउँले ढाकिएका ध्रुवमा र ध्रुव नजिकका महादेशबीचको तापक्रमको भिन्नता बढ्यो भने पोलार भोर्टेक्सको गति अझ बढ्छ।
विश्वव्यापी तापमान वृद्धि (ग्लोबल वार्मिङ) का कारण ध्रुवको तापक्रम पनि बढ्न थालेपछि यस वर्षको उत्तरी गोलार्द्धको हिउँदमा पोलार भोर्टेक्सको गति घट्यो। गति घटेपछि उत्तरी ध्रुवको पोलार भोर्टेक्सको पर्खाल तीन ठाउँमा भत्किएको मानिन्छ।
त्यसरी पर्खाल भत्किएपछि पोलार भोर्टेक्सले समातेको धेरै चिसो वायु उत्तर अमेरिका, युरोप र एसियातर्फ गयो।
सोही वायुका प्रभावले अमेरिका र युरोपमा यसपालिको हिउँद विगत केही दशककै सबैभन्दा चिसो बन्यो।
स्क्रोलका अनुसार उत्तरी भारतमा देखिएको चिसो पनि एसियातर्फ आएको त्यही पोलार भोर्टेक्सका कारण हो।
नेपालमा चिसो र हिउँदे वर्षा बढेको पोलार भोर्टेक्सका कारण हो कि होइन भन्नेमा मौसमविद्हरू ठ्याक्कै टुंगोमा पुग्न सकेका छैनन्।
‘पोलार भोर्टेक्सको असर उत्तर अमेरिकामा धेरै परेको हो। त्यहाँभन्दा हाम्रो मौसम प्रणाली निकै फरक छ,’ महाशाखाका मौसमविद् अर्यालले भने, ‘पूर्वदेखि पश्चिमसम्म रहेका हाम्रा हिमश्रृंखलाले यसमा ठूलो भूमिमा खेल्छन्। किनकी हिउँ परेपछि हिमालबाट आउने हावाले काठमाडौंको तापक्रम स्वाट्टै घटाइ दिन्छ।’
उनले त्यति टाढा चलेको पोलार भोर्टेक्सको नेपालमा प्रभाव पर्यो कि परेन एकिन साथ भन्न अध्ययन गर्नु पर्ने बताए।
‘त्यसको सोझै असर पर्योजस्तो त लाग्दैन। भूमध्य सागरमा उत्पन हुने पश्चिमी वायुको उत्पतिमा पनि पोलार भोर्टेक्सको भूमिका छ कि छै भन्ने हामीले अध्ययन गरेका छैनौं,’ अर्यालले भने।