पाल्पाको उपल्लो सिद्धबाबा मन्दिर विकास समितिले धार्मिक पर्यटक तथा मन्दिर दर्शन गर्न जाने भक्तजनका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको छ।
गत वर्षको महाशिवरात्री पूजामा मन्दिरमा संकलित भेटीबाट बचत भएको रकम र अरु स्रोत गरी साढे २९ लाख रुपैयाँमा समितिले एउटा नयाँ बस खरिद गरी शनिबार विधिपूर्वक पूजा गरी सञ्चालन गरेको हो।
हरेक दिन बिहान ५ बजे बुटवल र तिलोत्तमा नगरपालिकाको सीमा क्षेत्र योगिकुटीदेखि सिद्धबाबा मन्दिरको लागि पहिलो बस छुट्ने समितिले जानकारी गराएको छ।
त्यसपछि मध्यान्ह १२ बजेसम्म बुटवल ट्राफिक चोकबाट प्रत्येक एक घण्टामा मन्दिरको लागि बस छुट्ने गरी तालिका बनाइएको मन्दिर विकास समितिका अध्यक्ष दलबहादुर गुरुङले जानकारी दिए।
गुरुङले सिद्धबाबा क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने उद्देश्यसहित धार्मिक पर्यटकहरूको लागि निःशुल्क बस सेवा सञ्चालन गरिएको बताए।
समितिले सञ्चालन गरेको बसमा भक्तजन तथा पर्यटकले गाडी भाडा तिर्नुपर्ने छैन। मन्दिरसम्म निःशुल्क यात्राको व्यवस्था मिलाइएको छ। यद्यपी कसैले सहयोग गर्न चाहेमा भने बसमा दानपात्र राखिने गुरुङले जानकारी दिए।
बसमा भजन कृतन र सिद्धबाबा मन्दिरसहित धार्मिक प्रवचन श्रवण गर्ने व्यवस्था मिलाइएको छ।
तत्कालका लागि एउटा बस खरिद गरिएको भए पनि आवश्यकता अनुसार थप बसहरूको व्यवस्था गर्ने योजना रहेको समितिका कोषाध्यक्ष प्रेम पाण्डेले बताए।
कोषाध्यक्ष पाण्डेले मन्दिरको वार्षिक आम्दानी ५२ लाख तथा खर्च ४२ लाख रहेको बताए।
अहिले खातामा २४ लाख बचत रहेको समेत उनले बताए।
मन्दिर विकास समितिले आगामी सोमबार परेको यस वर्षको महाशिवरात्रीलाई विशेष पर्वको रूपमा मनाउने तयारी समेत गरेको छ। यसवर्ष महाशिवरात्री र सोमबार एकैदिन परेकाले श्रद्धालु भक्तजनको उल्लेख्य सहभागिता हुने मन्दिर विकास समितिले जनाएको छ।
सोही अनुसार दर्शनार्थीहरूलाई मन्दिर दर्शन र पूजा गर्न सहज होस् भनी तयारी समेत गरिएको अध्यक्ष गुरुङले दाबी गरे।
गत वर्ष महाशिवरात्रीमा १२ हजार दर्शनार्थीले मन्दिरको दर्शन तथा पूजा गरेकोमा यस वर्ष सोमबार समेत परेको त्यो संख्या २० हजार पुग्ने अनुमान गरिएको अध्यक्ष गुरुङले बताए।
सिद्धबाबा धामक्षेत्रमा मृत्यु भएका यात्रुहरूको स्मृतिमा आगामी फागुन २७ गते एक दिने पितृमुक्ति कार्यक्रम गरिँदै छ।
महाशिवरात्री पर्वको दिन बुटवलबाट मन्दिरसम्म पुग्न थप ४ वटा बसको नि:शुल्क व्यवस्था गरिएको छ।