संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसँगै चुहान डाँडामा जान नपाएका दुई जना भाग्यले बाँचेका छन्। उनीहरू हुन्, सांसद विजय सुब्बा र मन्त्री अधिकारीकै मन्त्रालयका उपसचिव दीपक थापा।
चुहान डाँडामा एयरपोर्टका बनाइपाउँ भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिन जाने स्थानीयको टोलीलाई सांसद विजयसुब्बाले नेतृत्व गरेका थिए।
चुहानडाँडामा एयरपोर्ट बनाउनका लागि निरीक्षण गर्न पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितको टोली जाँदैछ भन्ने थाहा पाएपछि सुब्बाले पनि सँगै जाने चाहना व्यक्त गरे।
अधिकारीका स्वकीय सचिवलाई फोन गरेर जाने बेला आफूलाई पनि खबर गर्न भनेको उनले बताए।
'म पनि जान्छु मेरो पनि नाम टिपाइदिनू। कतिखेर जाने हो मलाई खबर गर्नू भनेको थिएँ,' सांसद सुब्बाले सेतोपाटीसँग भने,'सिट नपुगेर मलाई बोलाएनन्।'
बुधबार दिउँसो उनी प्रतिनिधिसभाको राज्यव्यवस्था समितिको बैठकमा थिए। बैठक चलिरहेकै बेला त्यहाँ उपस्थित गृहसचिव प्रेम राईलाई फोन आयो। फोन राखेर उनले मन्त्री अधिकारी चढेको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना परेको सुनाए। त्यो खबर सुनेर सुब्बा भने निशब्द भए। एकछिनपछि उनले आफू पनि सँगै जाने कार्यक्रम रहेको सिट नभएर नगएको समितिमा सुनाए।
उनले मन्त्री अधिकारीलाई श्रद्धाञ्जली दिँदै आफू संयोगले बाँचे पनि अधिकारीको निधनले केही सोच्न नसक्ने बनाएको भन्दै फेसबुकमा स्टाटस लेखेका छन्।
'म त सञ्जोगले बाँचें । म बाँचे पनि मलाई प्रिय लाग्ने रवीन्द्र अधिकारीको निधनले केही सोच्न नसक्ने बनाइदियो । विद्या बैनीलाई के भनेर सम्झाउनु? गत चुनावमा जिपको मेरै सिटमुनि बम पड्कँदा यति डर लागेको थिएन मात्र आधा घण्टाजति लाटो जस्तो भएको थिएँ। बम शक्तिशाली भएको भए त्यही बेला मरिन्थ्यो नै। आज असाध्यै डर लागेको छ। सिंहदरबारबाट जडीबुटी डेरामा आइपुग्न पनि कति लामो यात्रामा निस्केको भान भयो। जीवनको के भर भयो र ? क. रवीन्द्र अधिकारीप्रति हार्दिक श्रद्धाञ्जली छ। अब विजय दाइसँग तपाईंले वात मार्नुहुन्न नि हैन ?' उनले फेसबुकमा लेखेका छन्।
मन्त्री रवीन्द्र अधिकारीसँगै चुहानडाँडा जानका लागि ठिक्क परेका अर्का व्यक्ति थिए उनकै मन्त्रालयका उपसचिव दीपक थापा। उनी पछिल्लो समय मन्त्री अधिकारीका प्रिय कर्मचारी भनेर चिनिन्थे।
तर अन्तिम समयमा आएर उनले नजाने बताए र चुहान डाँडा जाने व्यक्तिको सूचीबाट उनको नाम काटियो।
उनले मौसम खराब भएको र भोलिपल्टै आएर जर्मन उड्नुपर्ने भएकाले आफू नजाने भनेको मन्त्री अधिकारीको सचिवालयले बताएको छ।
सेतोपाटीसँगको संक्षिप्त कुराकानीमा उपसचिव थापाले भने- मौसम ठीक छैन त्यसैले नजाउँ भनेको थिएँ।
तर आफूले नाम काटेकोबारे उल्लेख गरेनन्।
मन्त्री अधिकारीको सचिवालयलाई देशभरीको मौसमबारे जानकरी थियो। मौसमविज्ञान विभागले मन्त्रालयमा हरेक ३ दिनको मौसमसम्बन्धी विवरण पठाउने गर्छ। विभागले पठाएको मौसमसम्बन्धी जानकारी सचिवालयका कर्मचारीले मन्त्रीलाई सुनाउँछन्।
देशभरीको मौसमबारे थाहा पाएका थापाले चुहान डाँडा जान मानेनन्। उनी नगएपछि नेपाल उड्डयन प्राधिकरणका इन्जिनियर ध्रुव भोछिभयालाई पठाइएको अधिकारीको सचिवालय स्रोतले जनायो।
चुहान डाँडामा स्थलगत भ्रमणपछि ताप्लेजुङको पाथीभारा मन्दिर गएका मन्त्री अधिकारीसँगै उनी पनि हेलिकप्टर दुर्घटनामा परे। पाथीभराबाट फर्किने क्रममा भएको हेलिकप्टर दुर्घटनामा परी एयर डाइनेस्टीका मालिक आङ्ग छिरिङ शेर्पा, क्याप्टेन प्रभाकर केसी,नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्र प्रसाद श्रेष्ठ, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, मन्त्री अधिकारीका पिएसओ अर्जुनकुमार घिमिरेको पनि निधन भएको छ।