प्युठान जिल्लाको सर्मरानी गाउँपालिका निवासी हिमा कुसुण्डा र सुर्खेत गुर्भाकोट नगरपालिका–५ राजीगाउँ निवासी तेजु कुसुण्डा हाल दाङको लमहीमा बसेर कुसुण्डा भाषाको कक्षा लिइरहेका छन्।
कुसुण्डा भाषाको पढाइ लमही नगरपालिका वडा नं. ६ कुलमोडस्थित ८१ वर्षीया ज्ञानीमैया कुसुण्डाको घरमा केही दिनयता चलिरहेको छ।
लोपोन्मुख कुसुण्डा भाषा संरक्षण गर्ने उद्धेश्यले भाषा आयोगले ९० घन्टा अर्थात् तीन महिनासम्म प्रथम चरणमा विभिन्न जिल्लाका कुसुण्डा जातिका बालबालिकालाई दाङमा भेला गराएर भाषा सिकाउन थालेको छ।
उमेरले झण्डै १८ वर्ष पुगिसकेकी प्युठानकी हिमालाई आफ्नो पूर्खाको कुसुण्डा भाषा सिक्ने रहर भए पनि उनलाई आउँदैन थियो। तर लमहीको कुलमोड गाउँस्थित लोपोन्मुख कुसुण्डा भाषाको ज्ञाता ज्ञानीमैयाको घरमा हप्ता दिनदेखि पढ्दै आएकी उनले हाल केही शब्द सिकेकी छन् र उनी दंग छिन्।
‘अब म झोला, किताब, घर,आमा,बुवा जस्ता केही आफ्नै भाषामा भन्न सक्ने भएकी छु,’ हिमाले भनिन्, ‘तीन महिनासम्म पढेपछि धेरै जान्छु जस्तो लाग्छ।’
प्युठान जिल्ला निवासी हिमा हाल दाङको घोराही उपमहानगरपालिका वडा नं. ५ स्थित माध्यमिक विद्यालय धर्नामा अध्ययनरत छिन्। तर उनी हाल कुसुण्डा भाषा सिक्न कै लागि लमहीको कुलमोडमा बस्दै आएको बताउँछिन्।
‘कुसुण्डा जातिको आफ्नै भाषा छ भन्ने मैले सुनेकी थिएँ। कस्तो हुन्छ होला भन्ने खुलदुली थियो। तर,त्यो सिकाउने कोही फेला पार्न सकेकी थिइनँ,’हिमाले भनिन्,‘ आज मैले त्यो मौका पाएकी छु। आशा छ अवश्य म कुसुण्डा भाषा सिक्नेछु।’
कुसुण्डा भाषा नेपालमा रहेका चार भाषा परिवारमा नपर्ने अलग भाषा हो। यसका २५ व्यञ्जन वर्ण र ६ वटा स्वर वर्ण तथा करिब एक हजार आठ सय मूल शब्द छन्।
आफ्ना पितापूर्खाले बोल्ने भाषा सिक्ने अवसर पाउँदा उत्साहित हिमाले लोप हुँदै गरेको भाषा संरक्षणमा लाग्ने प्रतिवद्धता व्यक्त गरिन्।
हिमा जस्तै सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका–५ राजीगाउँ निवासी तेजु कुसुण्डा पनि आफ्नो भाषा सिक्नकै लागि दाङमा आएर बसेकी छन्।
लमहीको कुलमोडमै बसेर आफ्नो भाषा पढिरहेकी तेजुले पनि लोपोन्मुख कुसुण्डा भाषाको कक्षा लिन पाउँदा खुसी लागेको बताइन्।
३२ वर्षीया तेजुले कुसुण्डा जातिको आफ्नै भाषा छ भन्ने सुनेको भए पनि बोल्न भने जानेकी थिइनन्। कारण उनका बुवा आमाले पनि यो भाषा बोल्न जान्दैनन् थिए। हाल ज्ञानीमैयाको घरमा कुसुण्डा भाषाको कक्षा लिन थालेपछि भने उनले पनि घरपरिवारका सदस्यहरूलाई बोलाउने शब्द, जनावरहरूलाई नाम, शरीरका विभिन्न अंगहरूलगायत थप केही शब्दको ज्ञान भएको जानकारी दिइन्।
‘कुसुण्डा भएर पनि कुसुण्डा भाषा बोल्न नजान्नु जस्तो लज्जाको विषय अरू के हुन्छ?,’ तेजुले भनिन्, ‘सबै जातजातिले आफ्नो मातृ भाषा र मौलिक कलासंस्कृतिको ज्ञान राख्न सकेमा मात्रै आउने नयाँ पुस्तालाई त्यो सिकाउन सकिने छ।’
हिमा,तेजुलगायत एक दर्जनले ज्ञानीमैयाको घरमा कुसुण्डा भाषा सिक्दैछन्।
यसले कुसुण्डा भाषा संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ। हाल नेपालमा कुसुण्डा भाषा बोल्न जान्ने ज्ञानीमैया र उनकी अंकलकी छोरी ४२ वर्षीया कमला कुसुण्डामात्रै छन्।
ज्ञानीमैयाको उमेरलाई ध्यान दिँदै पढाउनको लागि उनकै घर रोजिएको हो।
‘हालसम्म ज्ञानीमैया र कमला बाहेक यो भाषा पूर्णरूपमा जान्ने मानिस नेपालमा अरू कोही छैनन्,’ कुसुण्डा भाषा शिक्षक उदय आलेले भने,‘यदि नयाँ पुस्ताले नसिक्ने हो भने उहाँहरूको काल भएपछि कुसुण्डा भाषा नै लोप हुने खतरा छ।’
ज्ञानीमैयालाई लेखपढ आउँदैन त्यसैले उनकै भनाइको आधारमा पढाउँदै आएको शिक्षकआलले बताए।
‘आफ्नो भाषाप्रतिको माया कसलाई हुँदैन र!,’ आलेले भने ‘यहाँ पढ्न आएका सबै बालबालिका निकै उत्साहित देखिन्छन्,खुबै सिक्ने प्रयास गर्छन्, निकै चासो दिन्छन्।’
भाषा सिक्न घरमै आउने गरेपछि आफू मरेपछि भाषा पनि हराउँ छ कि ? भनेर चिन्ता हटेको ज्ञानुमैयाले सुनाइन्।
‘यो भाषा नयाँ पिँढीले जानुन् भन्ने लाग्थ्यो,तर, भाषा सिक्न कसैले चासो दिएका थिएनन्। म आफै डाँडामाथिको घाम जस्तै अवस्थामा छु,’ ज्ञानुमैयाले भनिन्,‘ तर,अब स्कुलमा पढ्ने बालबालिका भाषा सिक्न आएपछि अब भाषा मर्दैन कि भन्ने आशा जागेको छ।’
नेपालका विभिन्न आठ जिल्लामा कुसुण्डा जातिको बसोबास रहेको पाइन्छ।
उनले हाल दाङसहितका आठ जिल्लामा एक सय ५० जति कुसुण्डाको बसोबास रहेको जानकारी दिए। तर राष्ट्रिय जनगणना २०६८ अनुसार देशभर दुई सय १३ जना कुसुण्डा जातिका मानिसहरू रहेको उल्लेख छ।
दाङ, प्युठान, सुर्खेत, झापा, सुनसरी, सिराह, काठमाडौं, मोरङलगायतका जिल्लाहरूमा कुसुण्डा जातिको बसोबास रहेको छ।
नेपालमा कुल एक सय २३ भाषा बोल्ने गरिन्छ। जसमध्ये २९ वटा भाषा लोपोन्मुख अवस्थामा पुगिसकेका छन्। त्यसमध्ये हाल लोपोन्मुख तीन वटा भाषा संरक्षण गर्ने प्रयासस्वरूप भाषा आयोगले कक्षा सञ्चालन गरिरहेको छ।
दाङमा कुसुण्डा भाषा, भोजपुरमा तिलुंग र गोरखामा बराम भाषाको पढाइ चलिरहेको भाषा आयोगले जानकारी दिएको छ।