हनुमानढोका दरबारस्थित मल्लकालीन गोप्य मन्दिर 'आगम् छेँ' को पुनर्निर्माण अब स्थानीय समुदायबाटै हुने भएको छ।
पृथ्वीनारायण शाहले मल्ल राजालाई हराएर काठमाडौं जितेपछि आगम् छेँ बन्द भएको थियो। मल्ल राजाहरू र तान्त्रिक विद्या जानेका मल्लवंशीय उत्तराधिकारी मात्र छिर्न पाउने आगम् छेँको नियम शाहवंशीय राजाहरूले पनि तोडेनन्।
यस्तो मन्दिर पुरातत्व विभागले जापानी प्राविधिकहरूबाट पुनर्निर्माण गराउन खोजेपछि स्थानीयले विरोध गरेका थिए। अहिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पहलमा उपभोक्ता समितिमार्फत् पुनर्निर्माण गर्ने निर्णय भएको हो।
इतिहासकारहरुका अनुसार आगम् छेँ नछिर्ने र कुमारी रथयात्राजस्ता काठमाडौंका सांस्कृतिक क्रियाकलापमा बाधा नगरेका कारण यहाँका नेवार समुदायले तत्कालीन सत्ता परिवर्तन सजिलै स्विकारेको थियो।
शाह राजाहरूले २४० वर्षसम्म पाइला नटेकेको आगम छेँ २०७२ को भुइँचालोमा जिर्ण भएको थियो।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवालीले लामो पहलपछि सबै पक्षबीच सहमति जुटेको बताए। उनले पुनर्निर्माण निम्ति निर्देशक समिति, प्राविधिक समिति र उपभोक्ता समिति गठन हुने जानकारी दिए।
‘अब मन्दिर पुनर्निर्माण अघि बढ्नेमा विश्वस्त भए हुन्छ,’ ज्ञवालीले भने, ‘मन्दिर बनाउँदा धार्मिक मान्यताको सम्मान एवं परम्परागत शैली, प्रविधि र स्थानीय सामग्री प्रयोग गर्नेछौं। नेपाली कालिगढले नै मन्दिर पुनर्निर्माण गर्नेछन्।’
संघीय संसद्का सांसद कृष्णगोपाल श्रेष्ठले तान्त्रिक विद्यामा दीक्षित भएकाबाहेक अरू कोही मन्दिरमा प्रवेश गर्न नमिल्ने बताउँदै यसको पुनर्निर्माणमा आर्थिक पारदर्शिता कायम गर्नुपर्नेमा जोड दिए।
प्रदेशसभाका सांसद राजेश शाक्यले स्थानीय समुदायलगायत सबैको साथ लिएर पुनर्निर्माण अघि बढाउने बताए।
पुरातत्व विभागका पूर्व निर्देशक भेषनारायण दाहालका अनुसार आगम् छेँको बाहिरी भाग करिब ३० सेन्टिमिटर ढल्किएको छ। जापानको टोकियो नेसनल रिसर्च इन्स्टिच्युटको अनुसन्धानले उक्त निष्कर्ष निकालेको हो।
यो मन्दिरमा गोप्य तरिकाले पूजा गरिने आगम् देवता स्थापना गरिएका छन्। सम्पदाविद् सुदर्शन तिवारीका अनुसार नेवार समुदायमा प्रत्येक वंशको आफ्नै आगम् घर हुन्छ। त्यहाँ कुल देवता राखिन्छ। हनुमानढोकाको यो आगम् छेँमा मल्ल राजाहरूको कुलदेवता छ। यो सम्भवतः काठमाडौंकै पुरानो आगम् छेँ भएको तिवारी बताउँछन्।
‘राजा प्रताप मल्लले यो आगम् छेँ निर्माण गरेका हुन्। उनी तान्त्रिक राजा थिए। तान्त्रिक पूजामार्फत् राजशक्ति स्थापना गर्न चाहन्थे,’ तिवारीले भने, ‘प्रताप मल्लपछि उनको पछिल्लो पुस्तासम्म यहाँ पूजा जारी रह्यो। शाहवंश सुरु भएपछि बन्द भयो।’
तिवारीका अनुसार चन्द्रशमशेर राणाको पालामा यसलाई युरोपेली शैलीमा पुनर्निर्माण गरिएको थियो।
हनुमानढोकाको प्रवेशद्धारबाटै देखिने आगम छेँमा दुईवटा निर्माण शैली प्रस्टै छुट्टिन्छ। मुनिका दुईतल्ला ‘निओ क्लासिकल’ शैलीमा बनेका छन्। माथिल्लो तल्लाको आगम छेँ भने मल्लकालीन नै छ।
त्यति बेला पनि बाहिरी भाग मात्र जिर्णोद्धार गरिएको थियो। गोप्य पूजाघरभित्र कोही छिरेनन्।
यो पनि हेर्नुहोस्: