फागुन ११ गते शनिबार दाङको दंगिशरण गाउँपालिका वडा नं. ५ स्थित बागरखोलामा सवारी दुर्घटनाबाट मृत्यु भएका प्रदेश सांसद उत्तरकुमार वलीको चिता जल्दै गर्दा त्यही भीडमा आँसु लुकाएर सुक्क सुक्क गर्दै गरेका एक युवा देखिए।
अल्पआयुमै एक जना निर्वाचित प्रदेशसभा सदस्यको मृत्युको शोकमा सयौं मानिस भावुक भइरहेका थिए। कोही अँस्रुधारा त कोही आँशु लुकाएर। त्यो भीडमा थिए एक ३२ वर्षीय युवा लिला विक जो त्यो भयानक दुर्घटनामा परे पनि बाँच्न सफल भए।
पश्चिम दाङकै बबई गाउँपालिका वडा नं. ३ हंसपुर निवासी विकले उत्तरकुमार वलीलाई आफ्नो राजनीतिक गुरु नै मान्छन्।
यसअघि विकलाई दाङको साविक निर्वाचन क्षेत्र नं. ५ को युवा संघको क्षेत्रीय अध्यक्ष बनाउन वलीले नै भूमिका खेलेका थिए। हाल विक युवा संघको ५ नं. प्रदेशको सदस्य छन्। त्यो पनि वलीकै देन भएको धेरैले अथ्र्याउँछन्।
जे होस् व्यक्तिगत रूपमा वली र विकको सुमधुर सम्बन्ध थियो। स्वकीय सचिव भन्दा पनि वलीले बढी विकलाई नै साथमा हिँडाउने गर्थे।
माघ २४ गते पनि उनीहरू दुई जना मात्रै कारमा सवार थिए। काठमाडौंबाट प्रदेश सभाको बैठकका लागि बुटवल आउँदा वलीले विकलाई बोलाएका थिए। वली गाडी आफैं चलाउँथे। त्यो दिन पनि वलीले बुटवलदेखि नै आफैं कार चलाएर ल्याएका थिए। यद्यपी आधा बाटो काटेपछि विकले ‘दाइ म चलाउँछु’ भन्दै गाडी मागेका रहेछन्। तर वलीले दिएनन् र त्यही बीचमा लमहीबाट आउँदै गर्दा घोराही उपमहानगरपालिका वडा नं. ३ स्थित चिसापानीमा दिउँसो साढे ४ बजेतिर वलीले चलाएको बा १८ च ६८३६ नम्बरको कारलाई घोराहीबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ५ ख ५५२९ नम्बरको यात्रुबाहक बसले ठक्कर दियो। जतिबेला विक पनि वलीसँगै अगाडिको सिटमा नै बसेका थिए।
दुर्घटनास्थलमा त्यस्तो घुम्ती पनि छैन। विकले बस हुइँकिदै नजिक आएको देखे। तत्कालै उनले गाडी हाँकिरहेका वलीलाई ‘दाइ’ भनेर सचेत तुल्याउन खोजे।
‘दाइले आत्तिएर ब्रेक हान्नुभयो। त्यसले हाम्रो गाडी केही डिसव्यालेन्स भयो,’विकले भने, ‘हामीले ब्रेक हान्यौं, तर तीव्र गतिको बसले ब्रेक लगाएन अनि झ्याम्म आएर हान्यो।’
अगाडिको सिटमा बसेको भए पनि विकले आफूले दुवै पाखुराले आफ्नो बचाउ गरेको हुँदा आफू जोगिन सफल भएको तर्क गरे।
उनीहरू सवार कारमा सुरक्षाको लागि आवश्यक एयर व्याग पनि थिएन।
दुर्घटनापछि दुवै बेहोस भए। एक जना व्यक्तिले निजी गाडीमा राखेर उनीहरूलाई हस्पिटल पुर्याए। प्रहरी ढिला गरी त्यहाँ पुगेको थियो। दाङको लमहीस्थित हस्पिटल पुर्याउनुभन्दा पहिले नै विक होसमा आइसकेका थिए। उनैले दुर्घटनाका अर्का गम्भीर घाइते प्रदेश सांसद उत्तरकुमार वली भएको त्यतिबेला सबैलाई बताएका थिए।
लमहीको प्रारम्भिक उपचारपछि सांसद वलीलाई रातारात बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा पुर्याइयो। त्यहाँ पनि उपचार सम्भव नभएपछि माघ २५ गते दिउँसो १ बजेतिर भेन्टिलेटरसहितको हेलिकप्टरमार्फत् काठमाडौंको मेडिसिटी हस्पिटल पुर्याइयो। तर,दुर्घटना भएको १६ औं दिनका दिन माघ १० गते बिहान ३ बजेतिर सांसदको वलीको मृत्यु भयो। वली दाङको निर्वाचन क्षेत्र नं. ३ (ख) बाट पूर्व नेकपा एमालेबाट निर्वाचित सांसद हुन्।
२३ जनाको मृत्यु भएको राम्री दुर्घटनामा सकुशल हिमानी हमाल
पुस ६ गते बेलुका साढे ४ बजेतिर दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ राम्री भन्ने स्थानमा अर्को यस्तै एउटा भयानक दुर्घटना भयो। त्यो दुर्घटनामा परी २३ जनाको मृत्यु भयो।
दाङको घोराही उपमहानगरपालिका वडा नं. १७ स्थित गैरागाउँमा सञ्चालनमा रहेको शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका १९ विद्यार्थी, दुईजना शिक्षक र चालक र सहचालक गरी २३ जनाको मृत्यु भयो।
दुर्घटनामा परी थप १२ जना विद्यार्थी गम्भीर घाइते र अंगभंग भए। तर त्यसमध्ये जुम्ला जिल्लाको तातोपानी गाउँपालिका वडा नं. १४ निवासी १८ वर्षीया छात्रा हिमानी हमाल मात्रै भाग्यले सकुशल रहिन्। उनको कुनै अंगभंग समेत भएन। दुर्घटनालगत्तै राप्ती प्रादेशिक अस्पतालमा ल्याइएकी हमालको अवस्था सामान्य थियो।
वन विज्ञानमा अध्ययनरत विद्यार्थी जियोलोजी र बोटानीका शिक्षकसहित सल्यानको कपुरकोटस्थित मूलपानी वनस्पती उद्यानको अवलोकन भ्रमण गरी दाङतर्फ फर्कंदै गर्दा दुर्घटनामा परेका थिए। उनीहरू सवार बा ४ ख ९७६६ नम्बरको बस राम्रीको मोडबाट झन्डै ८ सय मिटर जति तल खसेको थियो। बस नै टुक्रा टुक्रा हुने गरी भएको उक्त भयानक दुर्घटनामा हमालको भने सकुशल उद्दार गरियो। त्यो दुर्घटनाका घाइतेमध्ये अझै पनि कतिपय काठमाडौंमा उपचाररत छन्।
जन्ती बोकेको स्कोर्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
दाङमा मंसिर २७ गते बिहान १ बजेतिर अर्को एउटा भनायक दुर्घटना भयो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिकै चितवनबाट बेहुली लिएर बाँकेस्थित समशेरगञ्ज घरतर्फ जाँदै गरेको बा १२ च ३१२२ नम्बरको स्कार्पियो र पश्चिम महेन्द्रनगरदेखि पूर्वतर्फ जाँदै गरेको ना ५ ख ४०९० नम्बरको यात्रुबाहक बस एक आपसमा ठोक्किँदा दुलाहाका बुवाआमासहित ६ जनाको मृत्यु भयो।
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. ८ सम्शेरगञ्ज निवासी दुलाहाका बुवा ५३ वर्षीय मानबहादुर केसी, आमा ४५ वर्षीया विमला केसी, भतिजा ५ वर्षीय प्रवीण केसी, सोही ठाउँकै ४९ वर्षीय विश्व अधिकारी, ३१ वर्षीय दीपकुमार खड्का र कोहलपुर नगरपालिका वडा नं. १३ का ७८ वर्षीय दत्तबहादुर खत्रीको मृत्यु भएको थियो।
उक्त दुर्घटनामा परी स्कार्पियो चालक सम्शेरगञ्जकै २१ वर्षीय यमबहादुर राना र सम्शेरगञ्जकै ४५ वर्षीया गीतादेवी खत्री पनि घाइते भए। तर त्यसमध्ये पनि खत्रीलाई अरुभन्दा कम चोटपटक थियो।
स्कार्पियोमा ८ जनामध्ये ६ जनाको मृत्यु भएको थियो भने २ जना घाइते भए पनि बाँच्न सफल भए। सम्शेरगञ्ज निवासी २७ वर्षीय यज्ञबहादुर केसीले चितवनकी २५ वर्षीय लक्ष्मी पौडेललाई बिहे गरी घर लैजाँदै गर्दा उक्त दुर्घटना भएको थियो। तर उनीहरू भने छुट्टै बसमा रहेको हुँदा सकुशल रहे।
दाङमा सात महिनामा ७४ जनाको सवारी दुर्घटनामा मृत्यु
सवारी दुर्घटनामा परी विगत सात महिनाको अवधिमा दाङमा ७४ जनाको मृत्यु भएको छ।
जिल्लाका विभिन्न स्थानमा भएका १ सय १७ सवारी दुर्घटनामा ७४ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। मृतकमध्ये ५४ जना पुरुष, १३ जना महिला, ५ जना बालक र २ जना बालिका रहेका छन्।
ट्राफिक प्रहरी कार्यालय घोराहीका लालबहादुर देउवाका अनुसार जिल्लामा सबभन्दा धेरै पुस महिनामा ३० जनाको सवारी दुर्घटनाबाट मृत्यु भएको छ। तुलसीपुर ३ राम्रीमा पुस ६ गते स्कुल बस दुर्घटना हुँदै एक घटनामा २३ जनाको मृत्यु भएको थियो।
दाङमा गत मंसिर महिनामा सबभन्दा धेरै २० वटा सवारी दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख छ।
त्यस्तै, भदौ र कात्तिकमा समान १८/१८ वटा, साउन, असोज र माघमा समान १७/१७ वटा र पुसमा १० वटा सवारी साधन दुर्घटना भएको देउवाले सेतोपाटीलाई बताए।
माघमा भएको सवारी दुर्घटनामा दाङको निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित प्रदेशसभा सदस्य उत्तरकुमार वलीको पनि फागुन १० गते उपचारको क्रममा मृत्यु भएको छ।
त्यस्तै मंसिरमा १३ जना, माघ र कात्तिकमा समान ८/८ जनाको मृत्यु भएको छ। देउवाको अनुसार भदौ महिनामा ७ जना, साउनमा ५ जना र असोजमा ३ जनाको सवारी दुर्घटनाका कारण मृत्यु भएको छ। यो अवधिमा दुर्घटनामा परी थप १ सय ४० गम्भीर घाइते भएका छन् भने १ सय १० जना सामान्य घाइते भएको ट्राफिकको तथ्यांकमा उल्लेख छ।
१ सय १७ सवारी दुर्घटनामा एक वा सोभन्दा गाडीलाई क्षति पुग्न गई कुल १ सय ६२ सवारीसाधन दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ। यो अवधिमा सबभन्दा धेरै मोटरसाइकल दुर्घटनामा परेको पाइएको छ। गत साउनदेखि माघ मसान्तसम्म दाङमा कुल ७८ वटा मोटरसाइकल दुर्घटनामा परेका छन्।
यो अवधिमा बस २५ वटा, जीप तथा कार २० वटा, ट्याक्टर १७ वटा, ट्रक/ट्यांकर ८ वटा, टेम्पो ९ वटा, टिपर २ वटा र अन्य ३ वटा अन्य सवारी दुर्घटनाहरू भएको जिल्ला ट्राफिक कार्यालय घोराहीका देउवाले जानकारी दिए। उल्लेखित दुर्घटनाहरूमा करिब १ करोड ८१ लख ७४ हजार बढीको धनमाल क्षति भएको ट्राफिक प्रहरीलेको अनुमान छ।
पछिल्लो केही वर्षयता देशमै धेरै दुर्घटनाहरू जिल्लाहरूमध्ये दाङ पनि अग्रपंक्तिमा गणना हुन थालेको छ। सडक साँघुरो हुनु, ट्राफिक नियमको पालना नगर्नु, चालकको लापरबाही, मदिरा सेवन गरी सवारी चलाउनु, पशु चौपाया सडकमै हुनु जस्ता कारणहरूलाई यहाँ सडक दुर्घटनाको मुख्य कारण मान्ने गरिएको छ।