ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयको गेट अगाडि शुक्रबार साँझ भएको बम विस्फोटका घाइते भएका मध्ये एकको मृत्यु भएको छ।
लमजुङ घर भई ललितपुरको भैंसेपाटी बस्दै आएका ४९ वर्षीय सिंहप्रसाद गुरूङको मेडिसिटी अस्पतालमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको हो।
गुरूङको राति साढे १ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ। घाइते गुरुङको दुवै खुट्टा चुँडिएको, कम्मरका हड्डीहरु भाँचिएका र रगत बग्ने ठूला नशाहरु काटिएको पाइएको अस्पतालले जनाएको छ। अत्याधिक रक्तश्राबका कारण उनको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।
घाइते गुरूङलाई सुरूमा अल्का अस्पताल लगिएको थियो। त्यसपछि बीएन्डबी हुँदै अन्तिममा मेडिसिटी अस्पताल रेफर गरिएको थियो।
घटनाका अन्य घाइते ललितपुर ४ बागडोल बस्ने २६ को प्रतिक्षा खड्का र काभ्रेको बनेपा घर भई मेडिसिटी अस्पतालमा स्टाफ नर्सको रूपमा कार्यरत २५ वर्षीया उरुशा मानन्धरको उपचार भइरहेको छ।
शुक्रबार साँझ ७ बजेर ५५ मिनेटमा नख्खुस्थित एनसेल गेटमा बम विस्फोट भएको थियो। महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रबिन्द्रबहादुर धानुकका अनुसार बम बिष्फोट गराउने घटनामा संलग्नको खोजी भइरहेको बताए। बम विस्फोट कसले र किन गराएको भन्नेबारे अझै खुलेको छैन।