भारतीय दूतावासले प्युठानको मध्य क्षेत्रमा रहेको मुक्ति मा.वि. रातामाटाको विज्ञान भवन निर्माण गरिदिएको छ।
विद्यालयको ६७ औ वार्षिक उत्सवको अबसर पारेर शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोख्रेलले मंगलबार एक बिशेष समारोहका बिच भवनको उद्धघाटन गरेका हुन्।
प्रतिमान निमा स्मृति प्रतिष्ठानको पहल र भारतीय राजदुतावासको सहयोगमा मुक्ति मा.वि. रातामाटामा बिज्ञान भवनको निर्माण गरिएको हो।
जिल्लाको आवश्यक्तालाई ध्यानमा राखी निर्माण गरिएको विज्ञान भवन तथा छात्र छात्रावास लगाएत अन्य भौतिक पूर्वाधारहरु २०६४ सालमा निर्माण भई २०६९ सालमा सम्पन्न भएको थियो।
मन्त्री गिरीराजमणी पोख्रेलका साथै पूर्व मन्त्री एवं प्रतिमान निमा स्मृति प्रतिष्ठानका उपाध्यक्ष दिपक बोहोरा ,भारतीय राजदूतावासका काउन्सीलर निरज कुमार जयसवाल, प्यूठान जिल्लाबाट प्रतिनिधि सभा सदस्य दुर्गा पौडेल, प्रदेश सभा सदस्य कृष्णध्वज खड्का, हरि रिजाल, विद्यालयका प्रधानाध्यापक योगेन्द्र बहादुर जि.सि लगाएतका विशिष्ट व्यक्तित्वहरुको समेत उपस्थितिमा विद्यालय भवन उद्घाटन भएको हो।
१०५४ जना विद्यार्थी अध्ययनरत स्कुलमा १०+२ सम्म पढाइ हुन्छ।
विज्ञान, व्यवस्थापन र शिक्षा विषयमा पढाइ हुने यो स्कुल मध्य पश्चिम क्षेत्रकै उत्कृष्ट सरकारी स्कुलमध्ये पर्छ। यस्तै विज्ञान विषय पढाइ हुने मध्य पश्चिम पहाडी क्षेत्रकै पहिलो स्कुल हो।
२६.३० मिलियन रूपैयाँको लागतमा निर्माण भएको विद्यालय भवनमा नयाँ कक्षा कोठासँगै छात्रावास, सेक्युरिटी गार्ड घर, पानी ट्याङ्की, पर्खाललगायतका भौतिक संरचना बनाइएको छ।